समाज


बहस नसकिएपछि रविलाई पत्नी निकिताकै जिम्मामा पठाइयो

बहस नसकिएपछि रविलाई पत्नी निकिताकै जिम्मामा पठाइयो

नेपालखबर
माघ १०, २०८१ बिहिबार १७:२३, काठमाडौँ

जिल्ला अदालत, रुपन्देहीमा बिहीबार रवि लामिछानेको थुनछेक बहस नसकिएपछि उनलाई पत्नी निकिताकै जिम्मा लगाएर पठाइएको छ।

शुक्रबार १० बजेपछि इजलासमा उपस्थित गराउने सर्तमा रविलाई निकिताको जिम्मा लगाएर पठाएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। 

‘उहाँलाई हिजो जस्तै जिम्मामा पठाइएको छ। भोलि १० बजेपछि इजलासमा उपस्थित गराउनुहुन्छ,’ ज्ञवालीले नेपालखबरसँग भने। 

बिहीबार सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले थुनछेक बहस सुरु नहुँदै हिरासतमा नराखी पठाएको भन्दै आपत्ति जनाएका थिए। तर बिहीबारको बहसपछि पनि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यसअघिकै जस्तो आदेश गरेको हो। 

बिहीबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरु गोकर्णराज घिमिरे, सुनिल लामिछाने, वसन्तराज पोख्रेल र पवित्रा भण्डारीले बहस गरेका छन्। 

उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, उपन्यायाधिवक्ताद्वय प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका छन्। 

त्यसपछि जाहेरवालाका तर्फबाट बहस सुरु भएको छ। जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरे। जाहेरवालाका अझै दुई जना कानुन व्यवसायीको बहस बाँकी छ। 

शुक्रबार उनीहरूको बहस सकिएपछि रविका तर्फबाट बहस हुनेछ। त्यसपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस गर्नेछन् र आदेश हुनेछ। 

रविसहित २२ जना प्रतिवादीविरुद्ध सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा गत आइतबार पूरक अभियोग दर्ता भएको थियो। २० जना प्रतिवादी फरार रहेकाले थुनछेक सुरु नै भएको थिएन। रवि अदालतमा हाजिर भएसँगै बुधबार बयान गराएर सुनुवाइ अगाडि बढाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad