नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँको बुढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ। यसको औपचारिक उद्घाटन भने माघ १४ गते हुने भएकोछ।
बुढानीलकण्ठको एक घरमा व्यापार केन्द्र सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य नारायण चन्दले नेपालखबरलाई जानकारी दिए। ‘१४ गते यसको उद्घाटन छ,’ उनले भने, ‘त्यसको तयारी हामीले गरिरहेका छौं।’
व्यापार केन्द्रको महासचिव विप्लव लगायतका नेताहरुले अनुगमन समेत गरिसकेका छन्। प्रारम्भिक रुपमा अहिले एउटा पसलबाट सुरु भएकाे र त्यसलाई विस्तारै काठमाडौँ उपत्यकाका धेरै ठाउँमा सञ्चालनमा ल्याइने बताइएको छ।
व्यापार केन्द्रमा अहिले चामल, तेल, सिमी लगायतका वस्तु हुनेछन्। चन्द भन्छन्, ‘हामीले आफ्नै उत्पादनको चामल, तेल र जुम्लातिरको आफ्नै उत्पादन तथा स्थानीय स्तरमा खरिद गरिएको सिमी पनि राखेका छौं।’

नेकपाको गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले व्यापार केन्द्र खोल्ने निर्णय गरेको थियो।
व्यापार केन्द्र पूर्णक्षमतामा सञ्चालनमा आएपछि नेकपाले उत्पादन गरेका धान, मकै, आलु, मह, सिमी, मास, फापर, गार्मेन्टका कपडा लगायतका वस्तु राखिने बताइएको छ।
विप्लव नेतृत्वको नेकपाले देशभर करिब १५० विघा भन्दा बढी क्षेत्रमा सामूहिक खेती गर्दै आएको छ। अहिले चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा नेकपाले खेती गरिरहेको छ।
Shares

प्रतिक्रिया