समाज


पूर्वडीआईजी छविलाल जोशीलाई फर्काइयो हिरासत, थुनछेक बहस सकिएन

पूर्वडीआईजी छविलाल जोशीलाई फर्काइयो हिरासत, थुनछेक बहस सकिएन

नेपालखबर
माघ ६, २०८१ आइतबार १६:३४, काठमाडौँ

नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई हिरासतमा फर्काइएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दामा आइतबार थुनछेक बहस नसकिएपछि डीआईजी जोशीलाई प्रहरीको जिम्मा लगाएर पठाउने आदेश भएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान भएको हो। बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन्। तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका जोशी आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन्। यसअघि कास्की प्रहरीको हिरासतमै रहँदा काठमाडौँ ल्याएर उनको बयान प्रहरीले लिएको थियो। तर अदालतमा पनि छुट्टै बयान हुन्छ।

अदालतमा बयान सकिएपछि उनको थुनछेक बहस भएको हो। यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका छन्।

कास्कीमा लामिछानेले ६५ लाख धरौटी बुझाएका थिए। काठमाडौँको मुद्दामा पनि रविलाई भन्दा छविलाई बढी बिगो कायम गरिएको छ। रविलाई ५ करोड ८ लाख र छविलाई ५ करोड ७८ लाख बिगो कायम गरिएको थियो।

रवि र छविविरुद्ध आइतबार जिल्ला अदालत रुपन्देहीमा पनि सुप्रिम सहकारी ठगीमा मुद्दा दायर भएको छ। त्यहाँ पनि दुवैलाई चार करोड बढी बिगो माग गरिएको छ। सहारा चितवनको पनि मुद्दा अनुसन्धान सकिएको छ। सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्न बाँकी छ।

उनीहरुविरुद्ध पर्साको सानोपाइला सहकारी ठगीमा पनि अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad