समाज


उपत्यकाका १८ स्थानीय तह विपद् पूर्वतयारीबारे छलफलमा

उपत्यकाका १८ स्थानीय तह विपद् पूर्वतयारीबारे छलफलमा

नेपालखबर
माघ ४, २०८१ शुक्रबार ११:२५, काठमाडौँ

काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तह विपद् पूर्वतयारीबारे छलफलमा जुटेका छन्। 

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक, मध्यपुर ठिमी, चागुनारायण, तारकेश्वर, बुढानिलकण्ठ नगरपालिका छलफलमा जुटेका हुन्। 

यसैगरी, टोखा नगरपालिका, शंखरापुर, कीर्तिपुर, दक्षिणकाली, गोदावरी, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, महालक्ष्मी, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, प्रशाकीय अधिकृत तथा विपद् व्यवस्थापन शाखाका प्रमुखहरु कार्यशालामा सहभागी छन्। 

काठमाडौँ उपत्यका उत्थानशीलताको लागि विपद् जोखिम शासन सुदृढीकरण परियोजनाको सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तर्जुमा दिग्दर्शनका विषयमा छलफल गर्न स्थानीय सरकारहरू एकठाउँमा भेला भएका हुन्। 

कार्यशालामा संघीय र प्रदेश सरकारका विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरू पनि सहभागी छन्। 

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भीष्म कुमार भुसालले विपद् पूर्वतयारीका लागि स्थानीय तहहरू अब संघ र प्रदेश सरकारको भर परेर बस्न नहुने बताए। 

स्थानीय सरकारहरूले विपद् आइहालेमा राहत र उद्दारमा आफैँ खटिन सक्नेगरि दक्ष जनशक्ति तयार पार्नुपर्नेमा उनले जोड दिए। 

‘कुनै एउटा ठाउँमा विपद् आयो, कतिबेला बर्दि लगाएका मान्छे आउलान् र उद्दार गर्लान् भनेर पर्खेर बस्नुपर्ने स्थिति भयो भने हामीले आँकलन नै गर्न नसक्ने क्षति हुनसक्छ,’ भुसालले भने, ‘त्यसकारण स्थानीय सरकारहरू यसमा सशक्त बन्नुपर्छ। पूर्वतयारी र प्रतिकार्यकामा हाम्रो घर नजिकैको सरकार बलियो बन्न सक्यो भनेमात्रै क्षतिलाई कम गर्न सकिन्छ।’ 

कार्यशालामा विपद् बिज्ञहरूले आफ्नो प्रस्तुति राखिरहेका छन् भने स्थानीय सरकारका जनप्रतिनिधि तथा विपद् शाखामा कार्यरत कर्मचारीहरूले आज दिनभित्र यसमा छलफल गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad