नवलपुरस्थित शास्वत धाममा ५० लाख दर्शनार्थीले भ्रमण गरेको ऐतिहासिक क्षणको उपलक्ष्यमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको छ। शाश्वतधाम परिसरमा धार्मिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। साथै शनिबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन तथा भजन किर्तनले स्वागत गरिएको थियो ।
सन् २०१७ मा उद्घाटन गरिएको शास्वत धाममा शनिबारसम्म दर्शन गर्नेको संख्या ५० लाख पुगेको हो। त्यसलाई शनिबार उत्सवका रुपमा मनाइएको हो। उक्त कार्यक्रममा ख्यातिप्राप्त आध्यात्मिक गुरुहरु, विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुखहरु, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय टोल विकास समिति, आमा समूह र सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा काठमाडौँ उपत्यकामा लोकप्रिय महाकाली नृत्य र नागाचा नृत्यलाई पहिलोपटक उपत्यका बाहिर प्रस्तुत गरिएको हो। शाश्वतधाममा प्रस्तुत यी नृत्यलाई सहभागीहरुले निकै रुचीका साथ हेरेका थिए। यसका साथै, थारु, मगर, लामा–गुरुङ, ब्राह्मण जातिका मौलिक नृत्य र सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो।
‘शास्वतधामले आफूलाई नेपालको अन्यत्र कहिँ नभएको धार्मिक स्थलको रुपमा स्थापित गरेको छ,’ आगन्तुक मजोज अर्यालले भने, ‘यहाँ भ्रमण गर्नेहरुको बयान सुनेपछि परिवारसहित आएको हुँ। आफैंले प्रत्यक्ष अवलोकन गरेपछि यति सुन्दर र मनमोहक स्थान नेपालमा अन्यत्र छैन जस्तो लागेको छ। आज शास्वतधामभित्र प्राप्त भएको स्वागत–सम्मान मेरो जीवनमा अविस्मरणिय रहने छ।’
स्थानीय मौलिक संस्कृति, भेषभूषा, रहनसहन र बाजागाजालाई समेटेर प्रस्तुत गरिएको कार्यक्रमले सनातन धर्मप्रतिको श्रद्धा, आस्था र विश्वास जागरण गर्न तथा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको शाश्वतधाम परिवारले जनाएको छ।
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी र आर्ट अफ लिभिंगका संस्थापक श्री श्री रवि शंकरद्वारा संयुक्त रुपमा समुदघाटन गरिएको शास्वत धाम पछिल्लो समय नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको छ। कलात्मक मन्दिर, गुरुकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, संग्रहालय र शाकाहारी भोजनालय जस्ता स्थलहरु रहेका छन्।
शास्वत धाम धार्मिक पर्यटक मात्र नभई शैक्षिक भ्रमणका लागि पनि उपयुक्त गन्तव्य मानिन्छ। यहाँका आर्कषक भित्ते चित्र, पानीका फोहोरा, हरियाली र सजिला पदमार्गहरुले भ्रमणकर्तालाई आकर्षण थपेका छन्।
शाश्वतधामको प्रमुख आकर्षण एकम्वरेश्वर मन्दिरको भव्यता र कलात्मकतालाई उच्च प्रशंसा गरेका थिए। हरियाली र पानीको फोहोरा रहेको यस मन्दिरले विशेषगरी रातको समयमा पानीमा तैरिरहेको भान गराउँछ। त्यस्तै सनातन धर्मका मुख्य–मुख्य देवी देवताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक विषेशता रहेको छ। मन्दिरभित्र रहेको ठूलो शिवलिंग र बुद्धिष्ट सेन्टरले यहाँ आउने आगन्तुकलाई धार्मिक शान्ति र आध्यात्मिक ज्ञान प्रवाह गरेको छ।
नेपालका प्रख्यात उद्यमी एवं राजनीतिज्ञ विनोद चौधरीले शास्वत धाम निर्माण गरेका हुन्। ‘सनातन धर्मका अनुयायी एवं धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रका रुपमा शास्वत धाम स्थापित भएको छ । र, यति छोटो समयमा ५० लाख आस्थावान महानुभावहरु शास्वत धामको दर्शनका लागि आउनु आफैमा अनुकरणीय छ,’ चौधरीले भने, ‘शास्वतधामलाई दक्षिण एसियामा सनातन धर्मको केन्द्रको रुपमा विकास गर्न ५०औ लाख महानुभावका भावनालाई समेट्दै हामी अगाडी बढ्ने छौ।’
विश्वमान चित्रमा शास्वत धामलाई उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ। गुरुकुलमा विद्यार्थीहरु निशुल्क अध्ययन गर्न पाउँछन् भने हिन्दु र बौद्ध दर्शन झल्काउने छुट्टाछुट्टै संग्रहालय रहेको छ। यहाँ नक्षत्र बाटिका निर्माण गरिएको छ। जसले पर्यावरणीय महत्वलाई झनै दर्शाउने गरेको छ। 
भगवान गौतम बुद्धको अस्तु बौद्ध गुरुहरुले श्रीलंकाबाट ल्याएर विशेष पूजाआजाकासाथ शास्वत धामका प्रतिस्थापन गरिएको थियो। जसले गर्दा शास्वत धामलाई हिन्दूमात्रै नभई बौद्धमार्गीका लागि पनि पवित्र स्थलका रुपमा लिइन्छ। यहाँ हरेक वर्ष बैशाख पूर्णिमाका दिन विशेष पूजाआजा गरिन्छ।
Shares

प्रतिक्रिया