पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा आफ्ना सभापति रवि लामिछानेप्रति अदालतले निष्पक्षता देखाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहकोषाध्यक्ष दीपक बोहराले बताएका छन्।
उक्त मुद्दामा बिहीबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि रास्वपाका सहकोषाध्यक्ष बोहराले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
‘रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणजस्ता तीन ठूला मुद्दा लगाएर राज्यले प्रतिशोध साँध्न खोज्यो। भ्रष्टाचारमा दोषी ठहर सांसद संसद्भित्रै छन् तर मुद्दा दर्ता भएको भरमा निलम्बन गर्यो’, बोहराले लेखेका छन्, ‘तर अदालतले निष्पक्षता देखायो।’
यस आदेशले रवि लामिछानेलाई थुनामै राख्नुपर्ने आरोप नभएको प्रस्ट पारेको दाबी पनि बोहराले गरेका छन्।
‘न्यायालयले प्रमाणको आधारमा मात्रै निर्णय गर्ने हो, अफवाह र राजनीतिक दबाबले होइन। सत्यतथ्य पत्ता लगाउन अझै कानुनी प्रक्रियामा जाऔँ’, उनले लेखेका छन्, ‘तर निष्पक्ष न्यायको आस्थालाई कमजोर नबनाऔँ। न्याय जिउँदो छ।’
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले रविसहित सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
Shares

प्रतिक्रिया