गण्डकी


रविबारे अदालतको आदेश- तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन (पूर्ण पाठ)

रविबारे अदालतको आदेश- तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन (पूर्ण पाठ)

न्यायाधीश नितिज राई


नेपालखबर
पुस २५, २०८१ बिहिबार १९:१७, काठमाडौँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, कास्कीले आदेश दिएको छ।

न्यायाधीश नितिज राईको इजलासले बिहीबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो।

रवि लामिछानेसँग अदालतले ६५ लाख रूपैयाँ धरौटी माग गरेको छ। उनलाई भन्दा बढी पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ। 

यो आदेश गर्दा रवि तत्काल प्राप्त प्रमाणले निर्दोष रहेको भनी मान्न नमिल्ने अदालतले भनेको छ।

जाहेरवालाहरूको जाहेरी, प्रहरी प्रतिवेदन, वित्तीय विश्लेषकहरूको राय, सुरु अभियोगपत्रसाथ उपस्थित भएका प्रतिवादीहरूको बयान, प्रतिवादी छविलाल जोशीले भाडामा दिएको नेचर हर्बस् इन्टरनेसनल लिमिटेडको कार्यालय रहेको स्थानबाट बरामद सर्भर, अडिट रिपोर्ट, विभिन्न मितिमा काटिएका चेकहरू, बैंक स्टेटमेन्ट, घटना विवरण कागज गर्ने सञ्जय अधिकारीसमेतका व्यक्तिहरूको भनाइ, प्रतिवादीहरूको अनुसान्धान अधिकारीसमक्ष भएको बयान समेतका तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएको अदालतले भनेको छ।

रविको हकमा यस्तो छ आदेश: 
प्रतिवादी रवि लामिछानेको हकमा विचार गर्दा, निज प्रतिवादीलाई माथि प्रकरणमा उल्लिखित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अभियोग लागेको देखिएकोमा यस इजलाससमक्ष बयान गर्दा गोर्खा मिडिया प्रालिमा प्रबन्ध निर्देशक भए पनि सो संस्थामा कहाँबाट कसरी रकम आएको थियो भन्ने विषयमा फरार प्रतिवादी तथा उक्त कम्पनीका अर्का संस्थापक सेयरधनी गितेन्द्रबाबु राईलाई नै थाहा भएको, उक्त कम्पनीसँग गरेको सम्झौताअनुसार वित्तीय कारोबारको बारे जानकारी `लिने दायित्व नरहेको, चेकमा हस्ताक्षर गर्ने मात्र गरेको, सूर्यदर्शन सहकारीबाट कुनै कर्जा नलिएको भनी बयान गरेको देखिएकोमा निज प्रतिवादीको एकल हस्ताक्षरबाट गोर्खा मिडिया कम्पनीको ८१४ वटा चेकहरूको कारोबार भएको देखिएको, निज प्रतिवादी गोर्खा मिडिया कम्पनीको आधिकारिक व्यक्ति हुनुभन्दा अघि र सो कम्पनीबाट अलग भएपश्चात् पनि केही चेकहरूमा हस्ताक्षर गरेको देखिएको र प्रबन्ध निर्देशकजस्तो जिम्मेवार पदमा रही चेकमा हस्ताक्षर गर्ने हैसियतसमेत राखेको व्यक्ति रहेको देखिएको, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नाममा सञ्चालनमा रहेको साविक मेगा बैंकको खाता नं ०१२०००१००१५१३२ मा भएको कारोबार विवरणअनुसार सन् २०२१-०१-१८ मा चेक नं २०२४८९५३१७ बाट गितेन्द्रबाबु राईको स्ट्यान्डर्ड चार्टर्ड बैंकको १८२९०३१७२०१ मा रू.२,००,००,०००।- (दुई करोड) जम्मा भएकोमा सोही रकममध्ये सन् २०२१-०१-२१ मा चेक नं ००११९२८१६८ बाट रवि लामिछानेको नाममा आईएमईको खाता नं ३०-७०१०००५१-१३ मा रु. ७५,००,०००।- (पचहत्तर लाख ) को रहेको ग्लोबल चेकमार्फत जम्मा भई प्रतिवादी रवि लामिछानेले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सञ्चालनमा रहेको ग्लोबल आईएमई बैंकको खाता नं ००४०१०१००००५७७ मा सन् २०२१-०१-२२ जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको तथा अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैङ्क खाताको ट्रान्जेक्सन समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लिखित प्रमाणहरूबाट कसुरदार प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी  रु. ६५,००,०००।- (पैसट्ठी लाख रुपैयाँ नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नू र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय, कास्कीमा पठाइदिनू। 

पूरा पाठ हेर्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad