समाज


रविलाई जेल पठाउने वा नपठाउने, आज आउला आदेश?

रविलाई जेल पठाउने वा नपठाउने, आज आउला आदेश?

नेपालखबर
पुस २५, २०८१ बिहिबार ८:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज (बिहीबार) सरकारी वकिलले जवाफी बहस गर्दै छन्।

सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेका अनुसार बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए।

अब आज सरकारी वकिलले जवाफी बहस गर्ने उनले जानकारी दिइन्।

बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ।

सरकारी वकिल कार्यालयकी प्रमुख काफ्लेले थुनछेक बहस आजै सकिने बताइन्।

यस आधारमा रविलगायत प्रतिवादीलाई थुनामा पठाउने कि थुनाबाहिर राखेर मुद्दाको अनुसन्धान गर्ने भन्ने आदेश पनि आजै आउने सम्भावना देखिन्छ। 

‘बहस त आज फर्स्टआवरमै सकिन्छ, अब आदेशचाहिँ श्रीमान्‌ज्यूहरूले गर्न भ्याउन हुन्छ कि हुन्न भन्ने कुरा हो’, काफ्लेले बिहीबार बिहान नेपालखबरसँग भनिन्।  

रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। थुनछेक बहसका क्रममा सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन्।

लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ यस मुद्दाका पक्राउ परेका प्रतिवादी हुन्। 

सात जना प्रतिवादीका विषयमा न्यायाधीश नितिज राईको इजलासमा यही पुस १६ गतेदेखि थुनछेक बहस जारी छ।

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad