काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। बिहीबार शुक्राएको प्रतिवेदनमा ४४ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।
तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै प्रतिवादीहरुलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाउन प्रहरीको राय छ। यसअघि जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर भएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा भने चार वटा कसुरमा मुद्दा चलाइएको थियो।
त्यहाँ सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र क्रिप्टोको कसुरमा पनि केहीलाई प्रतिवादी बनाइएको थियो। तर काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा भने प्रहरीले एउटा मात्रै कसुरमा मुद्दा दायर गर्न राय दिएको हो।
पूर्वउपप्रधान एवम् गृहमन्त्री समेत रहेका लामिछानेलाई ५ करोड बढी बिगो कायम गरिएको छ। प्रहरी स्रोतका अनुसार रवि लामिछाने र पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई जनही ५ करोड भन्दा केही बढी बिगो कायम गरिएको हो।
अब प्रहरीको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलले कसलाई कुन कुन अभियोग लगाउने र कति बिगो कायम गर्ने भन्ने अन्तिम निर्णय गरेर अदालतमा मुद्दा दायर गर्नेछन्।
सहकारीमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ हिनामिना भएको प्रहरीको निस्कर्ष छ।
काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले काठमाडौँ उपत्यकामा न्यूरोड, महाराजगञ्ज, स्वयम्भु, जोरपाटी समेतमा शाखा खोली आर्थिक कारोबार गरेको थियो।
जसमा ५ हजार ६६९ जना व्यक्तिहरूबाट जम्मा रु २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ ३८ पैसा संकलन गरी उक्त रकम निक्षेपकर्ताहरुमा फिर्ता नगरी संचालकहरुले आफूखुसी अपचलन गरी सङ्गठित रुपमा ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
हालसम्म ६९० जनाबाट ९३ थान जाहेरी दरखास्त प्राप्त हुन आएको प्रहरीको भनाई छ।
पक्राउ पुर्जी जारी भएका प्रतिवादी ४४ जनामध्ये ५ जना पक्राउ परेका छन्। जसमा २ जना परिसर, १ जना कारागार र रवि र छवि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन्।
लामिछाने र जोशीलाई यसअघि नै पोखराबाट काठमाडौँ ल्याएर बयान गराइएको थियो। अहिले उनलाई कास्की प्रहरीकै हिरासतमा राखिएको छ। पोखरामा सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थुनछेक बहस चलिरहेको छ।
लामिछानेविरुद्ध कास्की अदालतमा भने सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलाइएको छ। अब सम्पत्ति शुद्धीकरणमा अन्य जिल्लामा भने मुद्दा चलाइने छैन। कास्की अदालतमा उनी र श्रीमतीको नाममा रहेको सम्पत्ति पनि जफतको माग गरिएको छ।
कास्कीमा उनीसहितका प्रतिवादीहरुलाई थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने टुंगो लागेपछि लामिछाने रा जोशीलाई अरु ४ जिल्ला लग्ने तयारी छ। बुटवलको सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केही दिनमै अनुसन्धान सकिने प्रहरीको भनाई छ।
चितवन र पर्सा प्रहरी कार्यालयले पनि लामिछानेलाई झिकाउँदै पत्र पठाइसकेका छन्। पोखराको मुद्दामा छुटे पनि उनलाई तत्काल अन्य जिल्लामा लैजाने तयारी छ।
Shares

प्रतिक्रिया