बागमती


प्रदेशको कानुन संशोधन गैरजिम्मेवार, यो नीतिगत भ्रष्टाचार हो: बालेन

प्रदेशको कानुन संशोधन गैरजिम्मेवार, यो नीतिगत भ्रष्टाचार हो: बालेन

नेपालखबर
पुस १८, २०८१ बिहिबार २२:५५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बिहीबार आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षणको प्रवेश बैठक सम्पन्न भएको छ।

प्रमुखको कार्यकक्षमा भएको बैठकमा उपप्रमुख सुनिता डंगोल, उपमहालेखापरीक्षक इन्दु विष्ट, नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डे, निर्देशक कल्पना अर्याल पोखरेल, लेखापरीक्षण अधिकारी रामकृष्ण पोखरेल, गीता पन्थी र राजु पाण्डेसहित महानगरपालिकाका विभागीय प्रमुखहरू सहभागी थिए।

बैठकमा प्रमुख शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरे।

क्यासिनो, स्काई वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने, ‘पहिले आकाशे सिसाको पुलमा ५ प्रतिशत थियो। यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो। अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ। यसबाट सोझै २३ लाख ३० हजार राजस्व घटेको छ। पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क थियो। अहिले प्रतिटिकटमा ५० रुपैयाँ तोकिएको छ। पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको ५ प्रतिशत कर थियो। अहिले महानगरपालिकाभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ। यस्ता नीतिगत भ्रष्टाचारलाई लेखापरीक्षणका क्रममा कसरी सम्बोधन हुन्छ?’

परीक्षण अधिकारीलाई प्रश्न गर्दै उनले भने, ‘यसरी राजस्व घटेपछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवर्धनमा कार्यक्रममा बजेट राख्न पाएन। अर्कोतिर संविधानले स्थानीय सरकारको एकल अधिकारका रूपमा दिएको बहाल कर संघीय सरकारले संकलन गरिरहेको छ। यसबाट पनि महानगरपालिकाको आय घटेको छ। नीतिगत यस्ता विषयलाई पनि लेखापरीक्षणका क्रममा औँल्याउनुपर्छ।’ 

वित्तीय अनुशासनमा नियामक निकायबाट प्राप्त भएका सुझावलाई योजना तथा कार्यक्रम तर्जुमादेखि नै कार्यान्वयन गरिएको प्रमुख शाहको भनाइ छ। लेखा परीक्षण अधिकारीसँगका अपेक्षासँगै प्रमुख शाहले विभागीय प्रमुख र खर्च गर्ने अधिकारीहरूलाई परीक्षणका क्रममा माग गरिएका विवरण, आधार, प्रमाण र कारणहरू तत्काल उपलब्ध गराउन निर्देशन दिए।

वित्तीय सुशासनमा आफू प्रतिबद्ध रहेको बताउँदै उनले आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउन नियामक निकायबाट सहयोगको अपेक्षा पनि राखे।

त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, कानुनले दिएका अधिकारलाई करदाताप्रति जिम्मेवार भएर परीक्षण कार्य सम्पन्न हुने अपेक्षा व्यक्त गरिन्।

परीक्षणका क्रममा कामको वित्तीय विवरण, यसअघिका परीक्षणबाट औँल्याएका विषय, सुधारका लागि दिइएका सुझाव, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनबमोजिम प्रक्रिया तथा पद्धतिहरु हेरिन्छ। महानगरपालिकाले वित्तीय प्रक्रिया सञ्चालन गर्दा हुन सक्ने जोखिम, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक लेखा परीक्षणको प्रभावकारिता र नियन्त्रण, वित्तीय जोखिमको अवस्था मूल्याङ्कन गरिन्छ। केन्द्र, वडासहित खर्च हुने ठाउँबाट सञ्चित रकम खर्च गर्दा अपनाउनुपर्ने नियमितता, मितव्ययिता, कार्यदक्षताउपर परीक्षण गर्ने गरी लेखापरीक्षण योजना बनाइएको छ। 

महानगरपालिकाले वित्तीय सुशासनका लागि पूर्वलेखापरीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी ३ चरणमा लेखा परीक्षण गर्ने गरेको छ। आर्थिक वर्ष २०७१/०७२ को नगरपरिषद् (तत्कालीन) को निर्णय अनुसार १ लाख ५० हजार रुपैयाँसम्मका भुक्तानीमा महानगरपालिकाले पूर्वलेखापरीक्षण गराउँदै आएको छ। आन्तरिक लेखा परीक्षणका लागि छुट्टै एकाइले काम गर्दै आएको छ। २०७३/०७४ (२०७४ वैशाख) देखि महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण हुँदै आएको छ। त्यसअघि अनुमति प्राप्त लेखा परीक्षकबाट अन्तिम लेखा परीक्षण हुने गरेको थियो। 

वित्त विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार महानगरपालिकाको केन्द्र, ३२ वटा वडा, हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजना गरी ३५ वटा एकाइको छुट्टाछुट्टै परीक्षणबाट प्रारम्भिक प्रतिवेदन तयार हुनेछ।

प्रशासन विभागले पुस १६ गते आन्तरिक परिपत्र जारी गर्दै अन्तिम लेखा परीक्षणको कार्यअवधिभर विभागका प्रमुख र खर्च कार्यक्रममा सम्लग्न अधिकारी, वडा सचिव, लेखापाल, राजस्व हेर्ने कर्मचारीलाई बिदामा नबस्न, विदा स्वीकृत गर्ने अधिकारीलाई विदा स्वीकृत नगर्न भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad