अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो। ठूला–ठूला विमान दुर्घटना भए। ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो।
सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा एक सय ७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए।
बैंककबाट फर्कँदै गरेको उक्त विमानमा चालक दलका ६ सदस्यसहित एकसय ८१ जना सवार थिए । सियोलबाट करिब दुई सय ८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर सिमेन्टको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।
यसअघि डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको एम्ब्रेयर इआरजे १९० एआर विमान कजाकिस्तानको अक्ताउ विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । वर्षको उत्तरार्धमा भएका दुई ठूला विमान दुर्घटनामा दुई सय १७ जनाले ज्यान गुमाए।
विमान दुर्घटनामा सन् २०२४ मा इरानी राष्ट्रपति इब्राहिम रइसी र अफ्रिकी देश मालीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिम जस्ता विशिष्ठ व्यक्तिको मृत्यु भयो । मे २० तारिख (जेठ ७ गते) इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस्तै जुन ११ (जेठ २९ गते) मालीका उपराष्ट्रपति चिलिमिको सैन्य विमान दुर्घटनामा मृत्यु भएको थियो।
नयाँवर्ष २०२५ को सुरुआत हुँदैगर्दा सन् २०२४ एयरलाइन्सका लागि दुःखद् सावित भयो । यस वर्षभित्र ठूला ठूलासहित धेरै सङ्ख्यामा विमानहरु दुर्घटनामा परेका थिए । डिसेम्बर महिनामा मात्रै ६ वटा ठूला विमान दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई सय ३४ जनाको मृत्यु भएको छ । लगातारको विमान दुर्घटनाले हवाई क्षेत्रमा सुरक्षा प्रोटोकल र प्राविधिक समस्यामाथि प्रश्न उठ्न थालेको छ।
यस्तै गत डिसेम्बर २२ मा दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । उक्त विमानमा सवार ब्राजिलका व्यापारी लुइज क्लाउडियो गालेज्जीको श्रीमती, तीन छोरी र अन्य आफन्तसहितको दुर्घटनामा मृत्यु भएको हो । डिसेम्बर २४ मा एयर क्यानाडाको विमान अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको थियो । उक्त विमानमा आगो लागेको थियो।
यसैगरी गत डिसेम्बर २२ मा पपुवा न्यू गिनीमा विमान दुर्घटनाग्रस्त हुदाँ विमानमा सबार सबै पाँच जनाको मुत्यु भएको थियो । उत्तरी तटीय उड्डयनद्वारा सञ्चालित एक आइल्याण्डर २२ डिसेम्बरमा पपुवा न्यू गिनीमा दुर्घटनाग्रस्त भएको थियो।
अर्जेन्टिनामा बम्बार्डियर च्यालेन्जर ३०० अर्जेन्टिनाको सान फर्नान्डो एयरपोर्ट नजिक दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको थियो । अमेरिकन विमान कामाका एयर एलएलसीद्वारा सञ्चालित कामाका एयर होनोलुलुको ड्यानियलअन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको हो । अगष्त नौ मा ब्राजिलको भिनहेडोको भिनहेडोमा विमान दुर्घटनाग्रस्त हुदा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो।
सन् २०२४ मा नेपाल पनि विमान दुर्घटनाबाट टाढा रहन सकेन । जुलाई २४ तारिख ९साउन ९ गते० गते सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुदाँ १८ जनाको मृत्यु भएको थियो । यस्तै अगष्त ७ (साउन २३ गते) काठमाडौँको शिवपुरी क्षेत्रमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको थियो । सन् २०२३ मा यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७२ जनाकै निधन भएको थियो । यो दुर्घटना आन्तरिक उडानमा हालसम्मकै ठूलो हो।
बुद्ध एयरका अप्रेसनल डाइरेक्टर क्याप्टेन आरके शर्मा समग्रमा वर्ष २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाका हिसावले दुःखद् रहे पनि नेपालमा भने केही सुधार भएको बताउँछन्। ‘नेपालका लागि वर्ष २०२४ सुखद नै मान्नुपर्छ। तर, विश्वव्यापी रुपमा हेर्दा वर्षको समाप्ती हुनैलाग्दा निरन्तर ठूला घटना हुनुले समग्र वर्षलाई हवाई दुर्घटनाका हिसावले दुखःद् मानिन्छ’, उनले भने।
नेपालको हकमा हवाई सुरक्षा अभिवृद्धि भएको मान्न सकिने उनको धारणा छ। यद्यपि, सौर्य एयर र एयरडाइनेस्टी हेलिकप्टर दुर्घटनाले पुनः एकपटक झस्काएको छ । यसबाट एभिएसन सेफ्टी र सेक्युरिटीका साथै व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नेतर्फ एयरलाइन्सहरुको ध्यान जान जरुरी रहेको क्याप्टेन शर्माको भनाइ छ।
सन् २०२४ मा विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या सकारात्मक बढोत्तरी भइरहेको छ। निरन्तर बढेको हवाई यात्रु चापले यस क्षेत्रको आकर्षणसँगै सेफ्टी र सेक्युरिटीलाई मजबुद बनाउनुपर्ने दबाव बढेको छ। हवाई क्षेत्रका जानकार अच्युत पहाडी पनि समगमा सन् २०२४ एभिएसनका हिसाबले दुःखद् वर्ष साबित भएको बताउँछन्।
‘विश्वव्यापीरुपमा ठूला ठूला हवाई दुर्घटना भए । नेपालमा पनि सौर्य एयरलाइन्स र एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भए । यसरी हेर्दा एभिएसनलाई सन् २०२४ फापेन। दुर्घटना मात्रै हैन मानवीय क्षति पनि धेरै भएको छ । यसले हवाई सुरक्षामाथि प्रश्न खडा गरेको छ’ , उनले भने। रासस
Shares

प्रतिक्रिया