समाज


स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता हट्यो

स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता हट्यो

नेपालखबर
पुस १६, २०८१ मंगलबार १६:३०, काठमाडौँ

हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ।

यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका लागि प्रयोगशालालाई भनेका थिए।

सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो। अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए।

‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो,’ उनले भने, ‘अब देशबाहिर नमूना पठाउनु पर्दैन।’

यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमूना भारत तथा अन्य देशमा पठाउनु पर्ने बाध्यता थियो।

यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ। सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरुको भनाइ छ।

बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नु पर्ने समस्या कम हुने भट्टले जानकारी दिए।

प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ। योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ।

भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ। र, नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन्। तर प्रयोगशालाले भने ३० हजार रुपैयाँ भित्रै परीक्षण गर्नेछ।

नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न्। यस आधारमा करिब १२ करोड विदेशिनबाट जोगिने देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले यसअघि पनि सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने निर्णय गरेका थिए। अहिले ती परीक्षण नियमित रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad