सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट विभिन्न किसिमका लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको बेलवारी नगरपालिका ४ बस्ने २१ वर्षीय विपिन क्षेत्री छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
एपीएफ टोलीले क्षेत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन ४ एम्पुल, डाईजाल्याव ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र एभिल ४० एम्पुल फेला परेपछि पक्राउ गरेको हो।
एपीएफ टोलीले उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरेको छ। पक्राउ परेका क्षेत्रीलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा सो मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।
चोरीनिकासी तथा पैठारीको सामान बरामद
यता, झापा जिल्लाको मेचीनगर नगरपालिका–६ सतिघरबाट चैत्र ५ गते एपीएफ टोलीले करीव पाँच लाख ५५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामान बरामद गरेको छ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको सुपारी, छोकडा र विभिन्न किसिमका औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्म कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले चैत्र ५ गते करीव दुई लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० स्थित भुजेलाबाट बरामद गरेको हो। बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ।
Shares

प्रतिक्रिया