पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनले नेपालको न्याय तथा कानुन क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै गहिरो दुःख प्रकट गरेका छन्।
नेसपा (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका डा. भट्टराईले स्वच्छ छविका सार्वजनिक व्यक्तित्व तथा आफ्ना अनन्य गाउँले वस्तीको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
‘सर्वोच्च अदालतका पूर्वन्यायाधीश, स्वच्छ छविका सार्वजनिक व्यक्तित्व तथा मेरा अनन्य गाउँले (गोरखा पालुङटार नपा–२, चापाभन्ज्याङ) मित्र प्रकाश वस्तीको आकस्मिक निधनमा स्तब्ध छु’, डा. भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालको न्याय तथा कानुन क्षेत्रमा अपूरणीय क्षति भएको छ। उहाँजस्तो सक्षम, निष्कलंक व्यक्तित्व न्यायालयले पाउन धेरै समय पर्खनुपर्नेछ।’
केही महिना पहिले मात्र गाउँमा भेटेको तस्बिर सार्वजनिक गर्दै डा. भट्टराईले आफ्नो जन्मस्थलका निम्ति पनि केही गर्ने उनको प्रतिबद्धता झल्झली सम्झिरहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘हार्दिक श्रद्धाञ्जली! शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।’
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको हृदयाघातका कारण गएराति निधन भएको हो।
Shares

प्रतिक्रिया