समाज


पुराना घरमा नयाँ पुस्ता हुर्काइरहेकी  ‘स्वयंसेविका’

पुराना घरमा नयाँ पुस्ता हुर्काइरहेकी  ‘स्वयंसेविका’

नेपालखबर
पुस ९, २०८१ मंगलबार १३:४७, बागलुङ

बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारछेउमा छ( भगवती टोल। टोलमा परम्परागत घर नै रहेका छन् । तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका । साथै टोलमा केही गर्भवती पनि रहेका छन्।

ढोरपाटन– १ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलीजुली’। आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ । यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्छिन्।

उमेरले हजुरआमा पुस्ताकी उनी आमा पुस्ताभन्दा कम छैनन् । यो समूह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरूको सुरक्षा र बालबालिका तथा आमाको पोषणका विषयमा छलफल गर्न बनेको हो। त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमा जम्मा भएर स्वास्थ्यका विषयमा छलफल गर्छन् । समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन्। 

स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देश सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन्। पोषणयुक्त खाना खान्छन्। तिनै खाना बनाउने अभ्यास गर्छन् र महिनाभरिको तालिका बनाउँछन्।

मिलिजुली स्वास्थ्य आमा समूहकी सदस्यसचिव चन्द्रकलाले हरेक महिना आमा र शिशुका लागि स्थानीय उत्पादनबाट बनेको पोषणयुक्त खाना निःशुल्क खुवाउने गरेकी छिन् । ‘म आफैँले कहिले फर्सीको हलुवा त कहिले चना–अन्डा बनाउँछु, कोदो, फापर, मकै, भटमास गाउँमै फलेका पोषणयुक्त उत्पादनबाट खाना तयार गरेर महिनामा एक दिन निःशुल्क सबैलाई खुवाउँछु,’ उनी भन्छिन्, ‘आमाले शिशुलाई खुवाउने विषयमा सिकून् भन्ने लाग्छ, उनीहरू सबैले घरमा त्यसैगरी खुवाउने गरेका छन्।’

समूहका आमामध्ये ३५ जनाका स–साना बालबालिका छन् । हरेक महिना एक–दुईजनाबाहेक सबै समूहमा आउँछन् र चन्द्रकलाले तयार गरेको खाना खान्छन् । ‘यी सबै मेरा छोराछोरी हुन्, उनीहरू कुपोषणबाट जोगिए हाम्रो समाज बलियो हुन्छ,’ उनले भनिन्, ‘धेरथोर खर्च त हुन्छ, तर म अन्य व्यवसायबाट त्यसको व्यवस्थापन गर्छु।’

चन्द्रकलाले दिने पोषणयुक्त खानाले आफूहरूलाई बालबालिकाका लागि खुवाउने पोषणयुक्त खाना बनाउन सहज भएको स्थानीय सिर्जना कुँवरले बताइन् । ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उनलाई प्रारम्भिक तालिम दिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका अनुसार उक्त टोलमा कोही पनि बालबालिका कुपोषित छैनन्। 

आमा समूहमा हुने छलफल, पूर्वतयारी र सक्रियताले आमा तथा बच्चाको स्वास्थ्य रक्षामा सहयोग पुगेको स्वास्थ्य केन्द्रले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad