समाज


दुर्गा प्रसाईंविरुद्ध ‘साइबर क्राइम’मा मुद्दा दर्ता, साढे ७ वर्ष कैदको माग

दुर्गा प्रसाईंविरुद्ध ‘साइबर क्राइम’मा मुद्दा दर्ता, साढे ७ वर्ष कैदको माग

नेपालखबर
मंसिर २६, २०८१ बुधबार २०:२९, काठमाडौँ

विवादित स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदन अनुसार बुधबार मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बताए।

कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी आरोपसहित ‘कीर्ते’ कागजात सार्वजनिक गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंसिर ४ गते पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा उनले आफूले सार्वजनिक कागजात कसैले दिएको बताए पनि ती व्यक्ति आफूले नचिनेको बयान दिएका छन्।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ। यसअघि पनि उनीविरुद्ध दुई पटक साइबर अपराधमै मुद्दा दायर भइसकेकाले थप सजाय गर्न समेत सरकारी वकिलको माग छ।

दफा ४७ को (२) अनुसार पटक–पटक साइबर सम्बन्धी कानुन उल्लंघन गर्नेलाई डेढी सजाय हुने कानुनी व्यवस्था छ। सो व्यवस्था अनुसार उनलाई साढे ७ वर्षसम्म कैद माग गरिएको हो।

अब बिहीबार अदालतमा प्रसाईंको बकपत्र हुनेछ। बकपत्र सकिएपछि अदालतले  थुनामा राख्ने वा थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश गर्नेछ।

यो मुद्दामा अदालतले थुनाबाहिर राख्ने आदेश दिएपनि उनी छुट्न भने तत्कालै पाउने छैनन्। उनीविरुद्ध सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएरै अर्को मुद्दामा अनुसन्धान गरिरहेको छ।

व्यवसायीलाई धम्क्याएर रकम अशुल्न खोजेको आरोपमा उनीसहितका व्यक्तिविरुद्ध आपराधिक लाभ र संगठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad