समाज


एनआरएनए यूकेमा चुनावको तयारी, प्रमुख आयुक्तमा सिम्खडा

एनआरएनए यूकेमा चुनावको तयारी, प्रमुख आयुक्तमा सिम्खडा

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १९:२०, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) यूकेको काउन्सिल बैठक आगामी मार्च महिनाको पहिलो साता हुने निर्णय गरिएको छ।

एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा बसेको एनसीसी बैठकले संघको नियमित र महत्त्वपूर्ण कार्यक्रम ‘काउन्सिल बैठक’ आगामी मार्च २ तारिख, अल्डरसटमा गर्ने निर्णय गरेको हो। काउन्सिल बैठकमा बेलायतका सम्पूर्ण सामाजिक संघसंस्थाहरूका प्रतिनिधिको सहभागिता रहने संघले जनाएको छ।

बैठकको आयोजना गर्न उपाध्यक्ष लीलाराम निउरेको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ। आइतबारको बैठकमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडाले संघका हालैका गतिविधिहरूका बारेमा प्रकाश पार्नुका साथै आगामी गतिविधिहरूको बारेमा जानकारी दिएका थिए। साथै एनसीसीहरूलाई निर्बाधरूपमा आफ्ना गतिविधि सुचारु राख्न पूर्ण अधिकार रहेको पनि उनले बताएका थिए।

हाल केन्द्रमा देखिएको भनिएको विवाद सर्वोच्चको पछिल्लो फैसलाले निरुपण गर्दै निर्वाचित कमिटीलाई निर्बाध काम गर्न र पूर्ण कार्यकाल क्रियाशील हुँदै आवधिक निर्वाचन‍पश्चात् नेतृत्व हस्तान्तरण गर्न बाटो खोलेको उनले जानकारी दिए। न्याय निरुपणको अन्तिम मुकाम सम्मानित सर्वोच्च अदालत भएकोले उसले दिएको अन्तिम फैसलाले उच्चस्तरीय समितिको नाममा छुट्टै र समानान्तर क्रियाकलाप गर्ने अधिकार नदिएको उनको तर्क थियो। तर एकाताबद्ध एनआरएनएको लागि सबै पक्ष लचिलो हुनुपर्नेमा उनले जोड दिए।

उपमहासचिव सोम सापकोटाले संस्थाको वैधानिकतालाई अदालतको निर्णयले समाधान गरेकोले सबै एनसीसीहरूले नियमित कार्यक्रम अघि बढाउन अनुरोध गरे।

गैरआवासीय नेपाली संघका सल्लाहकार चिरञ्जीवी ढकालले संघका गतिविधिहरूले समाजमा सकारात्मक सन्देश दिएको बताए। उनले निर्वाचनको विषयमा एनसीसीहरूलाई अन्योलमा नपर्न आग्रह पनि गरे।

एनआरएनए भूतपूर्व गोर्खा कार्यदलका संयोजक चन्द्रबहादुर गुरुङले बेलायतमा नेपाली भाषा कक्षाको आवश्यकता रहेको बताए। साथै, एनआरएनए यूकेको अभियानमा आफ्नो सहयोग सुनिश्चित हुने उल्लेख गरेका थिए।

बैठकले एनआरएनए यूकेको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि ३१ मेसम्म गर्ने निर्णय गरेको छ। सदस्यता शुल्क १० पाउन्ड तोकिएको छ। नवीकरण प्रक्रियालाई सरलीकृत गर्न केन्द्रीय प्रणालीमा सुधारको लागि अनुरोध गर्नेसमेत निर्णय गरेको छ।

यसैगरी, एनआरएनए यूकेको आगामी निर्वाचन १२ जुलाई २०२५ मा केन्द्रीय एमआईएस प्रणालीको प्रयोग गरेर अनलाइनमार्फत् सदस्यता वितरण र निर्वाचन (मतदानसमेत) गर्ने सर्वसम्मत निर्णय बैठकले गरेको छ।

बैठकको सर्वसम्मतिले एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडालाई निर्वाचन समितिको संयोजक तोकेको छ।

बैठकले च्यारिटी कार्यक्रम अर्न एन्ड एजुकेट परियोजनाअन्तर्गत आगामी जुनको पहिलो साता एक भव्य कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ।

एनआरएनए यूकेको सदस्यता प्रमाणीकरणका लागि तीन सदस्यीय समिति गठन गरिएको छ, जसमा प्रमुख निर्वाचन आयुक्त केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडा, एनसीसी यूके अध्यक्ष हितकाजी गुरुङ र महासचिव गोविन्द खरेल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad