ad ad

समाज


नेपाल-भारत सीमामा स्वास्थ्य डेस्क, १४५ आइसोलेसन बेड

नेपाल-भारत सीमामा स्वास्थ्य डेस्क, १४५ आइसोलेसन बेड

शैलेन्द्र महतो
चैत ३, २०७६ सोमबार ७:४४,

विश्वरभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न प्रदेश २ मा तयारी सुरु गरिएको छ। संकास्पद कोरोना बिरामीलाई उपचार गर्न १४५ आइसोलेशन बेड तयार गरिएको छ।

कोरोना संक्रमणको रोकथाम तथा उपचारको पूर्व तयारीको लागि हालसम्म स्वास्थ्य सेवा विभागबाट तीन पटक तीन सदस्यीय स्वास्थ्यकर्मीको टोली प्रदेश २ आएको छ। टोलीले प्रदेश सरकार तथा प्रदेशभित्रका विभिन्न अस्पताल पुगेर चिकित्सक तथा अस्पताल व्यवस्थापन पक्षसँग छलफल गरी फर्केको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झा बताउँछन्।

स्वास्थ्य सेवा विभागबाट कोरोना संक्रमन चेकजाँच र उपचारको लागि २५ वटा पीपीई ड्रेस तथा शरीरको तापक्रम चेक गर्ने ७ वटा थर्मलगन उपलब्ध गराएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोरोनाका संकास्पद तथा संक्रमितहरुलाई राखेर उपचार गर्न प्रदेश भित्रका विभिन्न अस्पताल (धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा ६० र सोही अस्पतालको शाखा रहेको जनकपुरधामको ब्रह्मपुरीस्थित सीटी अस्पतालमा २०) मा ८० वटा आइशोलेशन बेड तयार गरिएको छ।

यसैगरी पर्साको वीरगञ्जस्थित नेश्नल मेडिकल कलेश शिक्षाण अस्पतालमा ५०, नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा १०, प्रादेशिक अस्पताल जनकपुरमा ५ गरी प्रदेशभरि जम्मा १ सय ४५ आइसोलेशन बेड तयार गरिएको निर्देशनालयका वरिष्ट अधिकृत झाले बताए।

आइसोलेशन बेड तयार भएका अस्पतालहरुमा संक्रमितलाई उपचार गर्ने ड्रेस पीपीई र तापक्रम नाप्ने थर्मल गन समेत उपलब्ध छन्। जानकी मेडिकल शिक्षण अस्पताल, प्रादेशिक अस्पताल जनकपुर र नारायण उपक्षेत्रीय अस्पताल वीरगञ्जमा २–२ वटा पीपीई ड्रेस र १–१ थान थर्मल गन उपलब्ध गराइएको छ। नेश्नल मेडिकल शिक्षण अस्पताल वीरगञ्जलाई दुईवटा पीपीई ड्रेस मात्र उपलब्ध गराउन सकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार प्रदेश २ भित्रको नेपाल-भारत सीममा २३ ठाउँमा स्वास्थ्यकर्मीसहितको चेकपोष्ट डेस्क सञ्चालनमा छन्। प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमितको उपचारको लागि वरिष्ट चिकित्सक डा.कुल्दीप पण्डितको संयोजकत्वमा ५ सदस्यीय चिकित्सक टोली गठन गरिएको मेडिकल सुपरिडेन्टेन्ट डा. नागेन्द्र यादवले जानकारी दिए।

‘बिरामीको चाप भए पनि ठाउँको अभावमा हामीले कोरोना संक्रमितको लागि तत्काल पाँच वटा बेडसहितको आइसोलेशन वार्ड तयारी अवस्थामा राखेका छौं’, उनले भने, ‘चिकित्सक टोली पनि तयारी अवस्थामा छ। आतिनु पर्ने अवस्था छैन तर सतर्क र सरसफाइमा सबैले ध्यान दिन जरुरी छ।’

प्रदेश २ का कोरोना भाइरसको संक्रमण रोक्न पहिलो पटक माघ १९ गते प्रदेश २ भित्रका ११ वटै अस्पताल, आठ वटै जिल्लाका स्वास्थ्य कार्यालयको बैठक बसेको थियो।

छलफलबाट पालिकाहरुसँग समन्वय गरी कोरोना भाइरसबाट बच्न सचेतना फैलाउने, ८ वटै जिल्लामा प्रदेशभित्रका  नेपाल-भारत नाकामा हेल्प डेस्क राख्ने निर्णय गरिएको थियो। त्यस्तै फागुन २० गते प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा बैठक बसी कोरोना भाइरसको विषयमा छलफल गरी संक्रमण रोक्न अपनाइने सावधानी, सचेतना र संक्रमण देखिए उपचार गर्न चाहिने साधन श्रोतको व्यवस्थापन विषयमा छलफल भएको थियो।

प्रदेश २ मा कोरोना संक्रमणको खतरा रहेको भन्दै निर्देशनालयका वरिष्ट अधिकृत झा भन्छन्, 'आवश्यक साधन स्रोत अझै अभाव छ।'

‘मास्क भेटिरहेको छैन। अहिले स्वास्थ्य सेवा विभागबाट मात्र २५ वटा पीपीई ड्रेस र ७ वटा थर्मल गन उपलब्ध गराएको छ। हामीलाइ कम्तिमा सय–सय वटा दुवै थोक चाहिन्छ। हामीले पनि जुटाउने प्रयास गरिरहेका छौं’, उनी भन्छन्।

कोरोनाबाट बच्न सबैले आफैँ सगजता र सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .