सहारा चितवन सहकारीमा अनुसन्धानका लागि विमानबाट चितवन लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग मंगलबारदेखि नै बयान सुरु भएको छ। बिहान काठमाडौँबाट लगिएका रविको बयान नसकिएपछि बुधबार पनि बयान हुने भएको छ।
आज बिहान ११ बजेदेखि ४ बजेसम्म बयान गराइएको थियो। बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा फर्काइएको छ।
लामिछाने दोस्रो पटक जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पुगेका हुन्। यसअघि झण्डै साढे ५ वर्ष पहिले पनि उनलाई त्यही हिरासतमा राखिएको थियो।
यसअघि २०७६ साउनमा आफ्नै सहकार्मीको आत्माहत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेर उनलाई चितवन प्रहरीले अनुसन्धान गरेको थियो। उनी १५ दिन हिरासतमा बसेपछि धरौटीमा रिहा भएका थिए।
अहिले भने उनी सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन्। सहारा चितवन सहकारीका बचतकर्ताले उनीसमेतको संलग्नतामा आफ्नो बचत रकम ठगी भएको भन्दै चितवन प्रहरीमा उजुरी दिएका छन्।
प्रहरीले उजुरी परेपछि अदालतबाट पक्राउ अनुमति लिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रविलाई काठमाडौँमा पनि सहकारी ठगीको आरोपमै अनुसन्धानका लागि काठमाडौँ ल्याइएको थियो। ५ दिन काठमाडौँ प्रहरीको हिरासतमा राखेर उनलाई बिहान मात्रै चितवन पठाइएको हो।
अब उनको बयान बुधबार पनि हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेसराज रिजालले बताए।
यही सहकारी ठगीको आरोपमा उनका साझेदार नेपाल प्रहअरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशी पनि पक्राउ परेका छन्। उनलाई पनि चितवन प्रहरीले बयान सकिएपछि मंगलबार बिहान मात्रै पोखरा पठाएको छ।
अब रविलाई पनि बयान सकिएपछि चितवन प्रहरीले पोखरा नै फिर्ता पठाइदिने छ। अहिले त्यहाँ मुद्दा दायर गरेपछि पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ। त्यसपछि अन्य जिल्लामा पनि मुद्दा दायर हुनेछ। अभियोग पत्र अदालतमा बुझाइएपछि अदालतले पुनः प्रतिवादीहरुलाई झिकाएर बकपत्र गराउने छ।
सहरा चितवन सहकारीको बचत रकम पनि गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। यसअघि नै जीबी राईसहितविरुद्ध अभियोग दायर भइसकेको छ।
तर गोर्खा मिडियामा गएको रकमको सम्बन्धमा प्रस्ट नभएको र थप तथ्य खुलाउन आवश्यक रहेको भन्दै सरकारी वकिल कार्यालयले नै पुनः अनुसन्धानका लागि प्रहरीलाई भनेको थियो।
Shares

प्रतिक्रिया