बिहानको चिसोमा एक हातमा लौरो र भोटकार्ट बोकेर ९१ वर्षीय विरमाया थिङ मकवानपुरको हेडौँडा १२ मा मतदानका लागि मतदानस्थल पुगिन्।
घरबाट आधा घण्टाको बाटो हिडेँर बुहारी बिन्दु थिङको साथमा आएकी विरमाया भोट हाल्नु पर्छ भनेर छोराबुहारी भनेको कारण आएको बताउँछिन्। ‘भोट त पहिला पनि हाल्ने गरेको हो। छोराबुहारीले आज पनि भोट हाल्ने दिन हो, जानुपर्छ आमा भनेकाले आएँ,’ उनले भनिन्।
जन्मदैँ शारीरिक अपाङ्गता भएका ४४ वर्षका लोकबहादुर थिङ आफ्नी आमा सानु थिङका सहारामा मतदान गर्न विष्णु माविस्थित मतदान केन्द्रमा आइपुगे।
मुस्किलले आफ्नो ज्यान धानेका उनी मतदान गर्न पाउने अधिकार प्रयोग गर्न आएको उनले बताए। ‘आमा र सम्दीले ल्याउनु भएकाले भोट हाल्न आउन सकेँ,’ उनले भने, ‘पोहोर पनि यहीँ आएर भोट हालेको हो। यो पाली पनि भोट हाल्न जान पर्छ भनेर आमाले भन्नुभयो अनि आको।’
७१ वर्षकी सानुमाया मोक्तान आफ्नी ५५ वर्षकी छोरी सुकुमान मोक्तानको साथमा मत खसाल्न मतदान स्थलसम्म आइपुगिन्। कान कम सुन्ने र आँखाले त्यति ठम्याउन नसक्ने सानुमाया छोरीकै सहारामा मतदान गर्न आइपुगेकी हुन्।
हेटौँडा–१२ को उपनिर्वाचनमा मतदाताहरुमा उत्साह देखिएको छ। आइतबार (आज) बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरु उत्साहित देखिएका छन्।
हेटौँडा १२ को वडाध्यक्षका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। ८ हजार ५३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। यहाँ ३ हजार ८७८ पुरुष, ४ हजार १७४ महिला र अन्य १ जना मतदाता छन्।
यहाँ मतदानको लागि दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ।
प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया