नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। तीनवटा जलविधुत् आयोजनाहरु निर्माण सम्पन्न भई १६८ मेगावाट विधुत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।
यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यवसायीक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको विद्युत् बिक्री गरिसकेको छ। ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरिएको छ।

चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशीबाहेक तीनवटा आयोजनाहरु सम्पन्न भएका हुन्।
सबै आयोजनाहरु २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिव अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड-१९को महामारी, कोभिड-१९पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए। यसले गर्दा आयोजनाहरुको निर्माण प्रभावित भएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धी भएको बताए । ‘म चिलिमे कम्पनीको प्रबन्ध–सञ्चालक भएकाबेला आमसर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाहरुको निर्माण अगाडि बढाइएको थियो, मुख्य रुपमा काबु बाहिरको परिस्थितिका कारण आयोजनाहरुको निर्माणमा केही समय लागेतापनि अब तीनवटा आयोजनाहरुको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरुले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्,’ कार्यकारी निर्देशक घिसिङले भने।
भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिंदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही बृद्धि भएको छ। माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाहरुको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो। आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्पण बहादुर सिंहले निर्माण अवधिको व्याजबाहेक आयोजनाहरुको लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए। सिइओ सिंहले लागत अनुमान बमोजिम दुवै आयोजनाहरुको अनुमानित लागत प्रति मेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गरे। चिलिमेका चार वटै आयोजनाहरुमा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो।

कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरु, आयोजना प्रभावित रसुवाबासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ।
माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा १ अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुनेछ। माथिल्लो साञ्चेनलाई विद्युतको बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७० ७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ।
यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ। उक्त पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप विद्युत् उत्पादन गरी हिउँदयामका साँझको समयमा थप विद्युत् उत्पादन गरी प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्ने सिइओ सिंहले बताए।
Shares

प्रतिक्रिया