समाज


दुर्गा प्रसाईँको सकियो बयान, साइबर अपराधमा मुद्दा चल्ने

दुर्गा प्रसाईँको सकियो बयान, साइबर अपराधमा मुद्दा चल्ने

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार २०:२५, काठमाडौँ

विवादास्पद व्यवसायी दुर्गा प्रसाईँसँग आज जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा बयान लिएका हुन्। उनको बयान दिनभरजसो चलेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्ने गरी नक्कली कागजात तथा श्रव्यदृश्य सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा फैलाएको प्रसाईँमाथि आरोप छ। उनीमाथि विद्युतीय कारोबारसम्बन्धी (साइबर क्राइम) कसुरमा मुद्दा चलाउने तयारी छ।

‘आजको बयान सकियो,’ जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले नेपालखबरसँग भने, ‘अब थप अनुसन्धान गरी साइबर ब्युरोले आफ्नो राय पठाउला। त्यस आधारमा मुद्दाको बाँकी कारबाही अघि बढ्छ।’

प्रसाईँलाई मंसिर ४ गते (मंगलबार) भक्तपुरस्थित उनकै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएर साइबर ब्युरोलाई जिम्मा लगाएको थियो। भोलिपल्ट अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।

प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै विभिन्न कागजात सामाजिक सञ्जालमा फैलाएका थिए।

प्रसाईं फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका हुन्। यसअघि असोज ६ गते पनि साइबर अपराधकै कसुरमा पक्राउ परेका थिए। उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका हुन्।

त्यतिखेर रास्वपाकी एक केन्द्रीय सदस्यको चरित्रहत्या गर्ने किसिमका अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा फैलाएको उनीमाथिको अभियोग थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad