समाज


बयान सकेर छविलाई पोखरा फर्काइयो, म्याद थपेर रविलाई काठमाडौँ ल्याइने

बयान सकेर छविलाई पोखरा फर्काइयो, म्याद थपेर रविलाई काठमाडौँ ल्याइने

उजिर कार्की
मंसिर ७, २०८१ शुक्रबार २०:३९, काठमाडौँ

काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल बन्जाडे जोशीको बयान सकिएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा शुक्रबार बयान सकिएको र उनलाई साँझ नै पोखरा फर्काइसकिएको काठमाडौं परिसरका प्रमुख एससएसपी वसन्त रजौरेले बताए। 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा पक्राउ परेका जोशीसहितका प्रतिवादीहरू जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। कास्कीमा अनुसन्धान चलिरहँदा अन्य चार जिल्लाले पनि पूरक जाहेरी लिएर अनुसन्धान अगाडि बढाएका छन्। पोखरामा बयान सकिएकाले उनीहरूलाई अन्य जिल्लामा लाँदै बयान गराइँदै छ।

जोशीले बयानका क्रममा ठगीमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन्। सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर ठगी गरेको आरोप उनीहरूमाथि छ। तर जोशीले भने आफूले पहिले नै गोर्खा मिडिया छाडेको र आफ्नो कुनै पनि प्रक्रियामा संलग्नता नरहेको दाबी गरेका छन्। 

यसअघि प्रहरीले पक्राउ गरेपछि उनले थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दायर गरेका थिए। उक्त रिट खारेज गरे पनि सर्वोच्चले उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न सक्ने व्यवस्थाबारे प्रहरीको ध्यानाकर्षण गराएको थियो। तर प्रहरीले उक्त आदेशपछि पनि जोशीलाई थुनामै राखेर अनुसन्धान गरिरहेको छ। 

काठमाडौँमा बयानका क्रममा उनले आफ्नो संलग्नता अस्वीकार गरे पनि अरुको बारेमा भने केही पनि जानकारी नभएको बताएका छन्। उनका पूर्वसाझेदार रवि लामिछानेको संलग्नता रहेको वा नरहेको भन्ने बारेमा केही पनि बोलेका छैनन्। 

जोशीलाई काठमाडौँ प्रहरीले असोज २ गते काठमाडौँबाटै पक्राउ गरेर पोखरा पठाएको थियो। उनी पक्राउ परेको ६५ दिन भइसकेको छ। प्रहरीले यसअघि अनुमति लिएको सहकारी ठगी र संगठित अपराधको कसुरमा ६० दिनसम्म मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भए पनि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको हो। सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। 

सूर्यदर्शन सहकारीका पूर्वकोषाध्यक्ष समेत रहेका कुमार रम्तेललाई पनि यसअघि काठमाडौँ ल्याएर बयान गराइएको थियो। 

प्रहरीले आउँदो साता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारी गरेको छ। 

उनीहरूलाई हिरासतमा राख्न अदालतले दिएको म्याद शनिबार सकिँदैछ। थप हिरासतमा राख्न अनुमतिका लागि प्रहरीले आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदैछ। कास्की अदालतले अब म्याद थप गरेपछि लामिछानेलाई पनि काठमाडौँ ल्याउने र बयान गराएर फर्काउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ।

यसअघि रवि र छविलाई बुटवलको सुप्रिम सहकारीको ठगी आरोपमा पनि त्यहाँ लगेर बयान गराइएको थियो। यस्तै उनीहरूविरुद्ध सहारा चितवनको ठगी आरोपमा पनि जिल्ला प्रहरी कार्यालय चितवनमा पूरक जाहेरी परेको छ। त्यहाँ पनि उनीहरूलाई लगेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad