समाज


प्रदीपजंग केसी रथीमा बढुवा

प्रदीपजंग केसी रथीमा बढुवा

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १३:०, काठमाडौँ

नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन्। नेपाली सेनाको सिफारिसमा केसीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो। 

अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि गत भदौदेखि नेपाली सेनाको एक रथी पद रिक्त थियो। दुई जना रथीको दरबन्दी रहेकोमा निर्मलकुमार थापा मात्रै कार्यरत थिए। 

झण्डै दुई महिना रिक्त रहेको पदमा सिनियर उपरथी केसीलाई बढुवा गर्न सिफारिस गरिएको थियो। त्यसअघि सात दिने सूचना जारी गर्दै उजुरी गर्ने समय दिइएको थियो। तर कुनै उजुरी नपरेपछि बढुवा सिफारिस समितिले रक्षा मन्त्रालयमा बढुवाका लागि पठाएको थियो। 

केसी हाल मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका थिए। रथीमा बढुवा भएसँगै केसी २०८३ मंसिर १५ गतेसम्म सैनिक सेवामा रहनेछन्। त्यसपछि उनी रथीको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुनेछन्। 

२०२५ मंसिर १६ गते काठमाडौँमा जन्मिएका केसी २०४४ असोजमा नेपाली सेनामा भर्ना भएका थिए। यसअघि २०७८ पुस ८ गते उपरथीमा बढुवा भएका उनी उपरथीको कार्यकाल सकिन लाग्दा रथीमा बढुवा भएका हुन्। 

आफ्नो ३५ वर्षको सैनिक करियरमा उनले विभिन्न देशबाट सैन्य तालिमहरू गरेका छन। केसी विभिन्न समयमा ५ पटक राष्ट्रसंघीय मिसनमा पनि सहभागी भइसकेका छन। 

उनले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलमा प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर र सेक्टर हेड क्वाटरमा वरिष्ठ योजना अधिकारीको रुपमा काम गरिसकेका छन। 

यसबीचमा अन्य सैनिक पदहरू सम्हालेका केसी सन २०१४ देखि २०१७ सम्म बेलायतको रक्षा सहचारीको रुपमा नियुक्त भएका थिए। विभिन्न पदकबाट सम्मानित भइसकेका उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन।

केसीपछिको वरीयतामा उपरथी प्रेमध्वज अधिकारी छन्। उनलाई सरकारले यसअघि नै रथीमा स्थानीय बढुवा गरेर राष्ट्रसंघको सैनिक सल्लाहकारका लागि उम्मेदवार बनाएको छ। यसको नतिजा आइसकेको छैन।

अधिकारी बलाधिकृत रथी निर्मल कुमार थापाको अवकासपछि रथीमा बढुवा हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad