समाज


रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा पूरक जाहेरी

रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा पूरक जाहेरी

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १७:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहारा चितवन सहकारी ठगीको आरोपमा जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार सहकारी पीडितहरुको तर्फबाट २२ जनाले जाहेरी दिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए। 

पूर्वगृहमन्त्री समेत रहेका लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जाहेरी परेको हो। उनीहरुले सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ। 

यसअघि यही मुद्दामा जीबी भन्ने गितेन्द्रबाबु राईसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छ। पहिलो चरणको अनुसन्धानमा सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै सरकारी वकिल कार्यालयले नै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो। 

चितवनको भरतपुर महानगरपलिका–३ स्थित केन्द्रीय कार्यालय रहेको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा पहिलो चरणमा जीबीसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ। 

४४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा मुद्दा दर्ता भए पनि अनुसन्धानका क्रममा केही कारोबारको विवरण सम्बन्धित निकायबाट पाउन नसकेको भन्दै थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको ठहर थियो। सहारा चितवन सहकारीबाट रवि संलग्न गोर्खा मिडियामा ४७ करोड बराबरको कारोबार भएको देखिएको यसअघिको अभियोगमा उल्लेख छ।

यसअघिको अभियोग पत्रमा भनिएको छ, ‘सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार के, कसरी, कोकोसँग भएको हो, सोको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरूको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायतका बारेमा थप अनुसन्धान गर्नुपर्ने देखिन आयो।’

दोस्रो चरणको अनुसन्धानमा अब रवि लामिछाने, छविलाल बन्जाडेलगायत पनि तानिने भएका छन्। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा पक्राउ परेका उनीहरुमाथि यहीबिचमा बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पनि अनुसन्धान भइरहेको छ। 

यस्तै काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि अनुसन्धान अगाडी बढेको छ। छविलाई काठमाडौं ल्याएर प्रहरीले बयान गराइरहेको छ। यसपछि रविलाई ल्याउने प्रहरीको तयारी छ। 

यी ३ सहकारीपछि चितवनको सहारा र त्यसपछि वीरगन्जको साना पाइला सहकारीमा पनि उनीहरुमाथि अनुसन्धान हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad