विवादास्पद व्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका गतिविधि गरेका कारण उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले प्रसाईँको तस्बिरसहितको सूचना जारी गरी उनीमाथि विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर अपराध) सम्बन्धी अनुसन्धान गरिने जानकारी पनि दिएको छ।
प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सूचनामा लेखिएको छ, ‘जिल्ला झापा बिर्तामोड नपा–५ घर भई हाल भक्तपुरको मध्यपुर नगरपालिका–६, निकोशेरा बस्ने दुर्गाप्रसाद प्रसाईँले सामाजिक सञ्जाल फेसबुक एकाउन्ट र अपडेट सेरोफेरो नामक फेसबुक पेजबाट प्रधानमन्त्रीको कम्बोडियामा लगानी भन्ने समेतका सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री राखी घृणा, द्वेष फैलाउने, अपमान गर्ने किसिमको कार्य गरेको हुँदा निजलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। वीर अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई साइबर ब्युरो पठाइएको थियो। उनलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको साइबार ब्युरो प्रमुख डीआईजी नवीन्द अर्यालले नेपालखबरलाई जानकारी दिए।
स्वास्थ्य परीक्षण लगायतमा ढिलाइ हुँदा उनलाई म्याद थपका लागि जिल्ला अदालतमा भने आज उपस्थित गराउन नसकेको प्रहरीले जनाएको छ। उनलाई बुधबार (भोलि) म्याद थपका लागि अदालत उपस्थित गराइनेछ।
प्रसाईं फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका हुन्। यसअघि असोज ६ गते पनि साइबर अपराधकै कसुरमा पक्राउ परेका थिए। उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका हुन्।
त्यतिखेर रास्वपाकी एक केन्द्रीय सदस्यको चरित्रहत्या गर्ने किसिमका अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा फैलाएको उनीमाथिको अभियोग थियो।

Shares

प्रतिक्रिया