संसदीय व्यवस्थामा प्रतिपक्षले सडकमा उत्रेर सरकारविरुद्ध खबरदारी गर्नु अनौठो होइन। संविधानले नै हरेक नागरिकलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गरेको छ।
तर, अहिले सत्ता हाँकिरहेको दलले नै सडकमा शक्ति प्रदर्शनको तयारी गरेको छ। सत्तारुढ नेकपा एमालेले मंसिर ७ मा एक लाख कार्यकर्ता जुटाउने योजना बनाएको छ। जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।
सो पार्टीले काठमाडौँको भृकुटीमण्डमा प्रदर्शनसहितको बृहत् सभाको तयारी तीव्र पारेको छ।
आफ्नो शक्ति परीक्षण गर्न एमालेले सो सभा राखेको नेताहरू बताउँछन्। कार्यकर्तालाई काठमाडौँ ल्याउन केन्द्रीय नेता नै खटिएका छन्। वडातहसम्म अनिवार्य उपस्थितिको लागि सर्कुलर जारी भएको छ।
‘जागरण सभा’ नाम दिइएको कार्यक्रममा काठमाडौँभित्रका चर्चित ठाउँबाट जुलुस निकाल्ने तयारी छ।
तीन उद्देश्य लिएर एमाले सडकमा उत्रिनुपरेको एमालेका एक पदाधिकारीले बताए।
‘कांग्रेस–एमालेले गणितका आधारमा सरकार चलाए पनि जनमत नभएको भ्रम प्रचार चिर्न आवश्यक देखियो,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘हामीले आफ्नो शक्ति देखाउन कार्यक्रम राखेको हो। मनमनमा लागेर त भएन नि, बाहिर देखाउनै पर्ने भयो।’
संसदको ठूला दल नेपाली कांग्रेस र एमालेले सरकार चलाइरहेका छन्। असार ३१ गते प्रधानमन्त्री बनेका ओलीले देखिने काम गर्न सकेका छैनन्। यसले स्वयं एमालेकै नेता÷कार्यकर्ता खुसी छैनन्।
‘हाम्रो सरकार, हाम्रो प्रधानमन्त्रीलाई कसरी सघाउ पुर्याउने त भन्दा जनप्रदर्शनको माध्यमबाट,’ उनले थपे, ‘सरकारलाई समर्थन गर्ने, हौसला दिने यस्तै कार्यक्रमबाट हो।’
मंसिर १६ गतेको उपचुनावलाई पनि लक्षित गरिएको उनको भनाइ छ।
‘केही दिनपछि हुन लागेको उपचुनावमा विजय प्राप्त गर्न, जनमतलाई हाम्रा कुरा बताउन, निराश रहेका कार्यकर्तालाई जगाउन, सन्देश दिन। तन्दुरुस्त राख्नुपर्यो नि!’ ती पदाधिकारी भन्छन्, ‘आफ्नो संगठनको स्वास्थ्य ठीक बनाउनु पर्यो। सडक कसैको एकलौटी छैन। एमाले एकढिक्का छ। एकत्रित छ भनेर देखाउने प्रयास हो।’
एमालेले प्रदर्शनमा धेरै कार्यकर्ता उपस्थित गराउन स्थायी कमिटी सदस्य डा. राजन भट्टराईलाई कमान्डर बनाएर खटाएको छ।
‘कार्यक्रम फितलो भयो, संख्या थोरै भयो भने त यो तीनवटा जिल्लाले गरेको भन्ने हुँदैन, सिंगो एमालेको भन्ने हुन्छ। त्यही भएर राजनजीकै नेतृत्वमा जागरण सभा परिचालन समिति बनाइएको छ। उहाँ हुनेबित्तिकै बागमती प्रदेशसहित वरिपरीको सबै पार्टी संयन्त्र परिचालित हुने भयो,’ ती नेताको दाबी छ।
एमालेले बागमती प्रदेशका सबै जिल्लाबाट कार्यकर्ता, समर्थकलाई काठमाडौँ उतार्नेछ।
‘२३ वटा जनसंगठन छ। यसलाई परिचालन गर्न बनाइएको जनसमन्वय संयन्त्रलाई मानिस ल्याउने जिम्मा दिइएको छ,’ भट्टराईले भने।
अखिल, युवा संघ र अनेमसंघले पाँच–पाँच हजार मानिस ल्याउने जिम्मा लिएका छन्। अन्य संघसंगठनले कम्तीमा हजार जना ल्याउने बताएका छन्। जिल्ला–जिल्लाले सोही अनुसार उतार्नेछन्।
‘एकलाख मानिस उतारौँ न त भन्ने हाम्रो योजना छ,’ भट्टराई भन्छन्, ‘यो कार्यक्रम सत्ता÷सरकारमा हुँदा होस् वा विपक्षमा हुँदा होस् जनताको बीचमा जानको लागि हो। जनतासित सम्बन्ध बनाइराख्नको लागि शान्तिपूर्ण रूपले भेला राखेका हौँ। विपक्षमा हुँदा सरकारलाई चेतावनी दिन, दबाब दिन गइन्छ भने सरकारमा हुँदा सरकारका कुराहरू स्थापित गराउन गइन्छ।’
एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पछिल्ला दिन देशभर व्यवस्था र संविधानका विरुद्ध भइरहेका प्रयासले भ्रम पैदा गरेको भन्दै सत्य कुरा बाहिर ल्याउन आवश्यक रहेको बताए।
‘अहिले अराजकता सिर्जना गरेर व्यवस्थाप्रति, दल, नेताका मूल्यमान्यताप्रति वितृष्णा पैदा गर्ने जुन कोसिस भइरहेको छ, यसलाई खबरदारी गर्न हामीले जागरण सभा गर्न लागेका हौँ,’ रिजालले भने, ‘एमालेको बलियो जनाधार छ।’
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल वडातहसम्मका समर्थक र कार्यकर्ता कार्यक्रममा सहभागी हुने बताउँछन्।
‘सबै कमिटी खटिएको छ, हाम्रो लक्ष्यअनुसार सहभागिता हुन्छ,’ उनले भने।
यसअघि सत्तामा हुँदा पनि ओलीले काठमाडौँमै प्रदर्शन राखेका थिए। पार्टी कमजोर भएको प्रचार हुन थालेपछि उनले यस्ता कार्यक्रम गर्न निर्देशन दिने गरेका छन्। जुन कार्यक्रममा आफैँ पुगेर सम्बोधन गर्छन् र कार्यकर्ताको मनोबल बढाउने कोसिस गर्छन्।
२०७७ माघ २३ गते तत्कालीन नेकपामा अल्पमतमा परेपछि ओलीले नारायणहिटी अगाडि प्रदर्शन सभा गरेका थिए।
पार्टीभित्र प्रचण्ड–माधवकुमार नेपाल र झलनाथ खनालहरूले साथ छोडेपछि ओलीले आफ्नै गुटको कार्यक्रम गर्न निर्देशन दिएका थिए। जुनबेला उनी प्रधानमन्त्री थिए।
नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि पुस ५ गते अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए।
त्यसबेला ओलीपक्षीय नेताहरूले बागमती प्रदेश कमिटीकै आयोजनामा बृहत् जनसभा राखेको थियो।
चार वर्षपछि एमालेले फेरि शक्ति प्रदर्शन गर्न लागेको हो।
Shares

प्रतिक्रिया