समाज


स्वर्णलक्ष्मी सहकारी ठगीमा छविको बयानपछि मात्रै रविलाई काठमाडौँ ल्याइने

कुमार रम्तेलको बयान सकियो
स्वर्णलक्ष्मी सहकारी ठगीमा छविको बयानपछि मात्रै रविलाई काठमाडौँ ल्याइने

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १८:२२, काठमाडौँ

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी कुमार रम्तेलको बयान सकिएको छ। रम्तेललाई मंगलबार पोखरा पठाउने तयारी भइरहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष रम्तेललाई बयानका लागि शनिबार काठमाडौँ ल्याइएको थियो। सूर्यदर्शन सहकारी ठगीका अभियुक्त रम्तेल विगत एक वर्षभन्दा बढी समयदेखि थुनामा छन्। जिल्ला अदालत कास्कीले उनलाई गत वर्ष नै पुर्पक्षका लागि कारागार चलान गरेको थियो।  

गोर्खा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका उनी पनि जीबी समूहका विभिन्न सहकारी ठगीमा जोडिएका व्यक्ति हुन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि पक्राउ अनुमति जारी भएको थियो।

पक्राउ अनुमति लिएलगतै काठमाडौँ प्रहरीले उनलाई पोखराबाट झिकाएर बयान लिएको हो। रम्तेललाई गत वर्ष भदौ अन्तिम साता काठमाडौँबाटै पक्राउ गरेर पोखरा लगिएको थियो।

रम्तेललाई पोखरा फर्काएपछि प्रहरीले पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई काठमाडौँ ल्याएर बयान लिने भएको छ। केही दिनमै उनलाई काठमाडौँ ल्याएर बयान लिएपछि मात्रै पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइने भएको छ।

उता पोखरामा सूर्यदर्शन सहकारी ठगीका लागि जोशी र लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। यहीबीचमा दुवै जनालाई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा पनि लगेर बयान लिइसकेको छ।

प्रहरीले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान अगाडि बढाएको छ।

यस्तै चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारीको ठगी आरोपमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानपछि छविलाल जोशी र रवि लामिछानेलाई चितवन र वीरगन्ज पनि लैजाने प्रहरीको तयारी छ।

यी ५ वटा सहकारीबाट जीबी भन्ने गितेन्द्रबाबु राईले उनका व्यावसायिक साझेदारहरू रवि लामिछाने, छविलाल जोशी, कुमार रम्तेललगायतसँग मिलेर करोडौँ रुपैयाँ गोर्खा मिडियामा लगेर ठगी गरेको आरोप छ। उनीहरू तीनै जना गोर्खा मिडियाका सञ्चालक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad