समाज


वादी समुदायका घरघरमा धारा

वादी समुदायका घरघरमा धारा

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १७:२५, नौमूले (दैलेख)

घरघरमा खानेपानीका धारा निर्माणसँगै दुल्लु नगरपालिका–१ का वादी समुदाय र तल्लोडुगेश्वर बजारका स्थानीयवासीले शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएका छन्। सधैँ कर्णाली नदी र लोहोरे खोलाको दूषित पानी पिउँदै आएका उनीहरुले शुद्ध पिउने पानी पाउँदा खुसी व्यक्त गरेका छन्।

‘अहिले घरघरमा पानी आयो, बल्ल सफा पानी पिउन पायौँ। नभए हाम्रो अवस्था फेद्उनो कर्णाली बग्दो रैगो पानी तिर्खा भन्ने देउडागीत जस्तै थियो’, दुल्लू नगरपालिका–१ की ९० वर्षीया इन्द्रसरा वादीले भनिन्।

धारा नहुँदा खोलाबाट पानी ल्याउन आधाघण्टा लाग्थ्यो। बर्सातमा झनै धमिलो पानी हुँदा गाउँले काकाकुल भएर बस्थे। ‘एक घण्टा धमिलो पानी बालुवा थिग्रिएपछि पिउँथ्यौँ। प्यास मेटाउन लागि पनि पर्खिनुपथ्यौँ,’ उनले भनिन्।

घरमा शुद्ध पिउने पानी आएपछि समय बचत भएको देवीसरा वादीले जानकारी दिइन्। ‘बचत भएको समय हामीले सरसफाइ र तरकारीखेतीमा बिताउने गरेका छौँ’, उनले भनिन्, ‘शौचालय नहुँदा झाडी, जङ्गलमा खुल्ला दिसापिसाब गर्नुपर्ने बाध्यता थियो। अब त पानी पनि पायौंँ। शौचालय पनि बने, चिन्ता केही छैन।’   

पाँच किलोमिटर टाढा भुवापानी मुहानबाट ल्याइएको खानेपानीबाट मन्दिर, बजार र नमूना बस्ती गरी एक सय १० वटा धारा निर्माण गरिएको प्राविधिक जयबहादुर विष्टले बताए। दुल्लू नगरपालिका र गैरसरकारी संस्थाको साझेदारीमा रु ७० लाख लगानीमा धारा र शौचालय निर्माण गरिएको हो।

मजदुरी गरेर जहान परिवार पाल्दै आएका वादी समुदाय अधिकांश बेरोजगार छन्। बालुवा निकाल्ने खोलामा क्रसर उद्योग सञ्चालनपछि आफूहरुलाई बेरोजगारी भएको उनीहरुको गुनासो छ। पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार सञ्चालन भए पनि जानकारी नपाउने गरेको वसन्ता वादीले दुखेसो पोखिन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad