समाज


संस्कृतिविद् जोशी र कायस्थलाई ललितपुर महानगरले दियो सवारीसाधन

संस्कृतिविद् जोशी र कायस्थलाई ललितपुर महानगरले दियो सवारीसाधन

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १८:४१, काठमाडौँ

ललितपुर महानगरले संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर लागिपरेका संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई विशेष सुविधा दिएर सम्मान गरेको छ।

ललितपुर महानगरले बिहीबार एक कार्यक्रम आयोजना गरी उनीहरुको दिनचर्या सहज बनाउन सवारी साधन, सुरक्षाकर्मीको रुपमा नगर प्रहरी, मोवाइल सेट हस्तान्तरण गरेर सम्मान गरेको हो।

साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने महानगरपालिकाले जनाएको छ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेको बताए।

उनले भने, ‘उहाँहरुको दिनचर्या सहज होस्, हिँड्डुल गर्न सजिलो होस् भनेर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौँ।’

उनीहरू भाषा, संस्कृति र सम्पदाको क्षेत्रमा शब्दकोष भएको महर्जनले बताए।

उनले भने, ‘उहाँहरू ललितपुर महानगरको मात्रै नभएर नेपालकै हिरा, मोती, पन्ना, जुहारत हुनुहन्छ।’

ललितपुर महानगरले मठ मन्दिर संरक्षण, पुनर्निर्माणको क्षेत्रमा यथेष्ट काम गरेर मूर्त सम्पदा संरक्षण गरेको बताउँदै आजको सम्मान कार्यक्रम अमूर्त सम्पदा संरक्षणको एक अंश भएको बताए।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सम्मानित व्यक्तित्वहरू कला, साहित्य र सम्पदाको क्षेत्रमा विश्वविद्यालय भएको बताइन्। संस्कृतिविद्हरूको योगदानको कदर गर्दै सम्मान गरेको प्रष्ट पारिन्।

सम्मानित व्यक्तिहरु हरिराम जोशी र छत्रबहादुर कार्यस्थले कला, संस्कृति र सम्पदाको क्षेत्रमा आफूहरुले गरेको कामको कदर गर्दै सम्मानसहित सुविधा दिएकोमा धन्यवाद दिए।

प्रवक्ता तथा वडा नं.९का अध्यक्ष राजु महर्जनले सम्पदा संरक्षणका लागि ललितपुर महानगरले धेरै काम गरेको बताउँदै संस्कृति, सम्पदाको अध्ययन, अनुन्धान र खोजीका लागि विशेष कोष बनाएर काम थाल्ने सन्दर्भमा छलफल थाल्ने बताए।

ललितपुर महानगरको वडा नंं ५ निवासी हरिराम जोशी विसं १९९२ जन्मिएका हुन्। त्यसैगरी छत्रबहादुर कायस्थको जन्म  विसंं १९९९ मा भएको हो।

संस्कृति शिरोमणि हरिराम जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएका छन्। संस्कृतिका विविध विधामा जोशीद्वारा लिखित तीन दर्जन भन्दा धेरै पुस्तक सार्वजनिक भएका छन्।

यसैगरी सम्मानित भएका अर्का व्यक्तित्व संस्कृतिविद् छत्रबहादुर कायस्थद्वारा लिखित ५ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन्। कायस्थद्वारा लिखित पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएको छ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कलासंस्कृति र सम्पदा संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वको सम्मान र कदर गर्ने कार्यक्रम गरेको बताए।

उनले भने, ‘ललितपुर महानगरपालिका र नेपाललाई कलासंस्कृति, सम्पदा र भाषाको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने व्यक्तित्वको सम्मानमा गरिएको यस निर्णयबाट महानगरपालिका गौरवान्वित भएको छ।’

ललितपुर महानगरपालिकाले यसअघि संस्कृतिविद्, शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान स्वरुप सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधन उपलब्ध गराएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad