समाज


दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती

दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार २०:१७, झापा

झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ। प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन्।

आज दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने। हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए। मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति पुर्याए। वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन। तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन्। जङ्गल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्षित हुने समाधानका ठोस उपाय निकाल्न सकिएको छैन।

‘मानिसहरु आ–आफ्नो काम धन्धामा व्यस्त थिए’, भद्रपुर–९ मिलचोकका दीपेन्द्र कटुवाल भन्छन्, ‘हात्ती आयो, हात्ती आयो भनेर हल्ला चल्यो। हेर्न जाँदा घर नजिकैको धानखेतमा हात्ती चरिरहेको रहेछ।’ नुनिया र बासमती धानको बाला भर्खर निस्किएको थियो। त्यही धान खाएर हात्ती निचाझोडा जङ्गलतिर गएको उनले बताए।

झापामा एक दर्जन बढी हात्तीले स्थानीय जङ्गलमा आश्रय लिँदै आएको वन कार्यालयले जनाएको छ। जिल्लाको दक्षिणस्थित जलथल जङ्गल, मध्यभागस्थित निचाझोडा जङ्गल र उत्तरतिरको चुरेभावर जङ्गलमा हात्ती बस्ने गर्छन्।

उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती र रैथाने हात्तीबाट जिल्लावासी पिरोलिएका छन्। १५ स्थानीय तहमा  हात्तीले नडुलेको कुनै वडा छैन। हात्तीको आक्रमणमा मानिसको मृत्यु नभएको कुनै स्थानीय तह जिल्लामा बाँकी छैन।

प्रायः जङ्गली हात्तीहरु दिउँसो जङ्गलभित्र लुक्ने र राति भएपछि आहाराका लागि गाउँ पस्ने गर्छन्। तर, अब हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेको र दिउँसो पनि चरनमा हिँड्न थालेको हुनसक्ने पर्यावरण संरक्षण अभियन्ता देवेन्द्र खरेल बताउँछन्।

‘हरेक दिन दुई केजीसम्म आहारा नखाए हात्तीको पेट भरिँदैन’, चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेल भन्छन्, ‘जङ्गलमा उसका लागि केही पनि खानेकुरा बाँकी छैन। राति गाउँ पस्दा पेट नअघाएपछि दिउँसो गाउँ पस्नु उसको बाध्यता हुनसक्छ।’

जनावरहरुले पनि मानिसले जस्तै अस्तित्व रक्षाका लागि आफ्ना आनीबानी बदल्ने उनी बताउँछन्। जङ्गलमा मात्र डुल्ने बाँदरहरु अचेल राजमार्ग छेउछाउ मानिसले गाडीबाट फ्याँक्ने खानेकुराको पर्खाइमा बसिरहेका भेटिन्छन्। कागलगायत चराहरु मानिसले खाएर फ्याँक्ने खाद्यान्नमा निर्भर भइसकेको तथ्यलाई उनीहरुको आनीबानी परिवर्तनका रुपमा लिनुपर्ने खरेल बताउँछन्।

दिउँसो जङ्गलका हात्ती गाउँमा निस्कँदा मानिसमाथि आक्रमणको सम्भावना अझ बढ्ने उनको भनाइ छ। ‘राति मानिस घरभित्र सुतेका हुन्छन्’, अभियन्ता खरेल भन्छन्, ‘दिउँसो बालबालिका र वृद्धवृद्धा घर बाहिर निस्किएका हुन्छन्। खेतमा कामदार आफ्नै धुनमा हुन्छन्। यस्तो बेला हात्तीले अचानक हमला गर्दा ठूलो मानवीय क्षति हुनसक्छ।’ हात्तीले आफूलाई असुरक्षित अनुभूति नगरेसम्म भरसक आक्रमण नगर्ने उनले बताए।

पछिल्लो समय मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हात्तीलाई जङ्गलभित्रै पर्याप्त आहार मिल्ने पारिस्थितिक प्रणाली बनाउन मानिसले प्रयास गर्नुपर्ने अवधारणा विकसित भएको छ। झापाको अर्जुनधारा, मेचीनगर, हल्दीबारीलगायतका स्थानीय तहका सामुदायिक वनमा हात्ती, बाँदर र चराका लागि आहार बन्नसक्ने विभिन्न बोटबिरुवा रोप्ने अभियान चलाइएको छ।

कोसी प्रदेश सरकारलेसमेत गत वर्ष ‘जसको जङ्गल, उसकै मङ्गल’ अभियानको घोषणा गर्दै पूर्वी नेपालको बाहुनडाँगीदेखि उदयपुरको बेल्टारसम्म हात्तीको बासस्थान र विचरण क्षेत्र पहिचान गरी जङ्गलभित्र आहार हुने बोटबिरुवा रोप्न थालेको थियो। तर, हाल उक्त अभियानले निरन्तरता पाएको छैन।
जङ्गलभित्र पेटभरि खान पाउने हो भने जङ्गली हात्ती गाउँ नपस्ने खरेल बताउँछन्। जङ्गल फँडानी र जङ्गलभित्र पर्यटकीय पूर्वाधारका नाममा भएका गतिविधिले हात्तीलाई जङ्गलमा शान्तले बस्ने वातावरण नभएको उनको विश्लेषण छ।

वन डिभिजन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार विगत १५ वर्षमा झापामा मानव–हात्ती द्वन्द्वका कारण ६७ जनाको मृत्यु भइसकेको छ भने २१ वटा हात्ती मारिएका छन्। पुरातन सोच र अभ्यासबाट मानव–हात्ती द्वन्द्वको अन्त्य नहुने ठोकुवा गर्दै मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्की अब सहअस्तित्व र हात्तीमैत्री सोचबाट अघि बढ्न आवश्यक रहेको बताउँछन्।

‘हात्ती त जनावर भइगयो, मानिसले चाहिँ आफ्नो प्रवृत्ति र सोचमा परिवर्तन ल्याउनुपर्छ’, हात्तीमैत्री अवधारणालाई आफ्नो वडामा व्यावहारिक रुपमा लागू गर्दै आएका कार्की भन्छन्, ‘हात्तीसँग झडपमा उत्रने पुरातन तरिका बन्द गर्नुपर्छ। आधुनिक प्रविधिको प्रयोग गर्दै बाली बिमा लागू गरेर क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्नुपर्छ।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad