समाज


इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर

इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार २०:३५, कैलाली

यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिला छन्। २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा) चलाएर जीविका गर्दै आएका उनी काम नपाएर फुर्सदिलो भएका हुन्। ठेला चलाएरै टीकापुरमा घर बनाएका उनमा दिक्दारी देखिन्छ।  

कुनै बेला भ्याइनभ्याइ काम पाउने उनी हिजोआज काम नपाउँदा रित्तो हात घर फर्कने गर्छन्। विगतमा उनी दैनिक रु एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ गर्थे।  

‘हाम्रो व्यापार इलेक्ट्रिक रिक्साले ओझेलमा पारिदिएको छ’,  उनले भने, ‘कुनै विकल्प नभएपछि बाध्यतामा मात्रै हामीलाई बोलाइन्छ।’

काम नपाएकै कारण ठेला चलाएर गुजारा गर्न गाह्रो भएको मजदुरहरुको भनाइ छ। चाडपर्वमा झन समस्या हुने गरेको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रतीराम चौधरी बताउँछन्।

‘दिनभर बजारको चोक चौराहमा बस्यो, साँझ परेपछि रित्तै घर फर्कियो’, उनले भने, ‘खाली हात घर पुग्दा छोराछोरीले के ल्याउनुभयो भनेर खोज्न थाल्दा मन थाम्न गाह्रो हुन्छ।’

ठेलाले काम नपाएपछि घरमै बस्नुभन्दा दैनिक ज्यालादारीको काम चहार्दै हिँड्नुपरेको चौधरी बताउँछन्। एकातिर बजार दिनप्रतिदिन खस्कँदो छ। अर्कोतिर यात्रु बोक्ने रिक्साले सामान ओसारपसार गर्न थालेपछि ठेला मजदुर मर्कामा परेका हुन्। उसो त केही वर्ष अगाडि मात्रै टीकापुरमा एकसय बढी ठेला मजदुर थिए। हाल अधिकांश विस्थापित भइसकेका छन्। ठेलाको विकल्प नभएका केहीले मात्र निरन्तरता दिएका छन्।

‘खेतीपाती गर्न जग्गाजमिन छैन, अन्य काम गरौँ सीप छैन, मजदुरी गर्नलाई नियमित काम पाइँदैन’, अर्का मजदुर सीताराम चौधरी भन्छन्, ‘खर्च दिनप्रतिदिन बढ्दो छ, आयस्रोत बढ्नुको साटो घट्दै जाँदा के खाने, ले लगाउने, केले छोराछोरीलाई पढाउने?’

जोशीपुरका राधेश्याम चौधरी ठेला चलाएर पहिले मासिक रु ५० हजारसम्म कमाउँथे। दैनिक रु पाँच हजारसम्म कमाएको अनुभव उनको छ। १८ वर्षदेखि ठेला चलाएर जीविका चलाउँदै आएका उनी विद्युतीय रिक्साका कारण पेशाबाट विस्थापित हुने अवस्थामा छन्।
 
स्थानीय सरकारले मापदण्ड बनाएर सबैलाई बाँच्ने वातावरण बनाउनुपर्ने ठेला मजदुरको माग छ। जुन प्रयोजनका लागि सवारीसाधनको खरिद भएको हो त्यसैअनुसार प्रयोग हुनुपर्ने उनीहरुको माग छ।

‘हामीसँग भएको सीप त्यही हो, आज त्यो सीप काम नलाग्ने अवस्थामा छ, इलेक्ट्रिक रिक्सा किन्ने सामर्थ्य छैन’, ठेला मजदुर पर्देशी चौधरी भन्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad