सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरूलाई आग्रह गरेका छन्।
बुधबार नेपाल पत्रकार महासंघले दसैँ, तिहार, छठ पर्व र नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुरुङले पत्रकारहरूलाई सरकारको स्वस्थ आलोचना गर्न आग्रह गरेका हुन्।
उनले पत्रकारको आलोचनाले सरकारलाई लोकतान्त्रिक बाटो हिँड्न मद्दत गर्ने धारणा पनि राखे। पत्रकारको आलोचनाले मन्त्रीहरूले गलत काम गर्न रोक्ने भन्दै त्यो भूमिका निभाउन आग्रह पनि उनले गरे।
आलोचना सुन्ने क्षमता राख्नेले कहिल्यै पनि कमजोर काम नगर्ने उनको भनाइ थियो।
उनले भने, ‘सरकारलाई जनताको लागि काम गर तिमी, अभावमा बसिरहेका मान्छेको सेवा गर भन्नुपर्छ। सरकारको प्रवक्ताको हैसियतले म तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँहरूले सरकारलाई आलोचना गर्नुपर्छ। तर ध्वसांत्मक विरोध होइन। यो कानुन मिच्न मिलेन भन्दिनुस् न तपाईँहरुले। कुनकुन मन्त्री रिसाउँछ, मलाई थाहा छैन तर सरकारको आलोचना गर्नुपर्छ तपाईँहरूले। पत्रकारले आलोचना गर्दा मेरो जागिर धरापमा पर्छ भन्ने सेन्स दिइराख्यो भने त्यो डरबाट पनि मानिस गलत काम गर्नबाट पछि हट्छ। जसले आलोचना सुन्छ, सुन्ने हैसियत, क्षमता राख्छ, त्यो कुरामा विश्वास गर्छ, त्यसले कहिले पनि कमजोर काम गर्दैन। भ्रष्टाचारमा पनि लाग्दैन। खुला समाजको पक्षपाती हुन्छ जहिल्यै पनि त्यो। त्यो अधिनायकवाद, निरंकुशताको बाटो कहिल्यै पनि जाँदैन। त्यसकारणले हाम्रो सरकार अहिले आलोचनाको अपेक्षा गर्छ। ताकि उसले हिँड्ने बाटो लोकतान्त्रिक बाटो होस्, अधिनायकवादी बाटो होइन।’
Shares

प्रतिक्रिया