समाज


गैरआवासीय नेपाली संघले ग्लोबल कन्क्लेभ आयोजना गर्दै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

गैरआवासीय नेपाली संघले ग्लोबल कन्क्लेभ आयोजना गर्दै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १४:३८, काठमाडौँ

गैरआवासीय नेपाली संघले काठमाडौंमा ग्लोबल कन्क्लेभ २०२४ आयोजना गर्दै छ।

यही कात्तिक ११ र १२ गते सोल्टी होटलमा कन्क्लेभ आयोजना गर्न लागेको हो। यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहने आयोजकले जनाएको छ। 

कार्यक्रममा स्वदेश तथा विदेशका ५ सयभन्दा बढी व्यक्तित्वको सहभागिता रहने महासचिव गौरीराज जोशीले बताए। 

कार्यक्रमको पहिलो दिन २७ अक्टोबर २०२४ मा नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ।

कार्यक्रमको दोस्रो दिन २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन्।

कार्यक्रममा १० अर्बको एनआरएन डेभलप्मेन्टको सञ्चालनका लागि भइरहेको तयारीबारे नेपाल सरकारसंग छलफल हुने एनआरएनएले जनाएको छ। 

१० अर्बको कोषले लागू हुनको लागि नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेपछि लागू हुने जनाएको छ। 

कात्तिक १२ गते गैरआवासीय नेपाली संघको विधानअनुसार नियमित वार्षिक साधारण सभा आयोजना गर्नेछ। संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउनेछन्।

एनआरएनए अध्यक्ष बद्री केसीले कुनै असहमति भए साधारणसभाबाटै समाधान गर्ने दाबी गरे। सबै सदस्यले साधरणसभाबाटै आफ्नो समस्या राखेर समाधान गर्न सकिने उनको भनाइ छ।

‘अब निकास सडक आन्दोलनबाट हुँदैन। गोलमेच सम्मेलनबाटै समाधान हुन्छ’, अध्यक्ष केसीले भने, ‘छलफलबाटै विधानमा कुनै समस्या समाधान भए संशोधन गर्न सकिन्छ। त्यसका लागि एकै ठाउँमा बसेर समाधान गर्न सकिन्छ।’

अध्यक्ष केसीले सुरूमा नागरिकता वितरणमा समस्या भए पनि अहिले फारम भरेको अर्को दिन पाउने अवस्था रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad