समाज


कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित

कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार २१:३०, बेलायत

विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित भएका छन्।

सोमबार साँझ बेलायतको राजधानी लण्डनस्थित ग्रोसभेनर हाउसमा आयोजित एक भव्य समारोहमा पूर्वगोर्खा सैनिक बुढामगर अवार्ड थापेका हुन्।

डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा हरिले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका हुन्। अवार्ड हस्तान्तरण कार्यक्रममा अफगानिस्तान युद्धमासँगै लडेका सहकर्मीसँगै पुगेका थापामगर भाव विह्वल भएका थिए।

अफगानिस्तानमा खुट्टा गुमाउनेगरी भएको विष्फोटका क्रममा आफू पछाडि रहेका सहकर्मीसहित अवार्ड समारोहमा सहभागी हुँदा त्यो घटना सम्झिएर भक्कानिएको बताए।

‘बेलायतलाई  १५ वर्ष सैन्य सेवा दिए, अनि मेरा दुई खुट्टा पनि गयो’, उनले भने, ‘आज बेलायतले यो प्राइड अफ ब्रिटेन अवार्ड दिएको छ, धेरै खुसी छु।’
उनले आफ्नो सम्मान विश्वका सम्पूर्ण अपाङ्गता भएकाहरुको सम्मान भएको बताए।

सन् १९९९ देखि आयोजना गर्न थालिएको यो अवार्ड समारोहमा आफ्नो असाधारण क्षमताबाट अरूको जीवनमा वास्तविक भिन्नता ल्याउने पात्रहरूलाई सम्मान गर्ने गरिन्छ।
 
मगरले बेलायती सेनामा कार्यरत रहेका बेला सन् २०१० मा अफगानिस्तामा विद्युतीय धरापमा दुवै खुुट्टा गुमाएका हुन्। उनले गत वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै, दुवै घुँडामाथि खुट्टा नभएको पहिलो आरोहीको विश्व रेकर्ड राखेका थिए।

प्राइड अफ ब्रिटेन अवार्डस् २०२४ कार्यक्रममा बेलायती प्रधानमन्त्री किर स्टर्मर पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु, ख्यातिप्राप्त कलाकार सहभागी थिए। सेनाका बहालवाला र पूर्वअधिकृतको उपस्थिति थियो।

अवार्ड थाप्ने क्रममा के कुराले बढी भावुक बनायो?
अवार्ड समारोहमा, मेरो सहकर्मीहरू सहभागी हुनुहुन्थ्यो। मैले अफगानिस्तानमा दुई वटा खुट्टा गुमाउँदा मै पछाडि रहेका साथी पनि सँगै हुनुहुन्थ्यो। मैले त्यो घटना सम्झिएँ। त्यो सङ्कट र यो खुसीमा साथीहरुसागै भएकामा मन थाम्न सकिन्।

अवार्ड थापिसकेपछि चाहिँ के कुरा मनमा आइरह्यो?
हेर्नुस् मैले यो हप्ता मात्रै योसहित दुई वटा अवार्ड थापे। कतिपय अवार्ड त थाप्न बोलाउँदा मात्रै थाहा हुन्छ। यस्ता अवार्डले मलाई झनै राम्रो काम कसरी गर्ने भन्ने प्रेरणा दिन्छ। अनि मेरो मनमा बाँकी काम कसरी राम्रोसँग गर्ने भन्ने मात्रै आइरन्छ। अब म सेभेन समिटको तयारी गर्दैछु। त्यही कुरा मनमा आइरहेको छ।

यस्तो खुसीको बेलामा पनि भोलिको चिन्ता किन?
हेर्नुस् बमले मेरो दुई वटा खुट्टा गुम्दा मेरो मनमा, मैले अघिल्लो जुनीमा कुन ठूलो पाप गरेछु। अब म धर्तीको बोझ भएर बाँच्नुपर्ने भयो भन्ने कुरा मनमा आउँथ्यो। अझै पनि विश्वका धेरै अपाङ भएकाहरुको मनमा सायद यही कुरा आउँछ होला।

नेपालमा त उनीहरुलाई मात्रै हैन उनीहरुको परिवारले पनि यस्तो भनेको मैले सुनेको छु। त्यसकारण अहिले मैले अपाङ्गता हुनु धर्तीको बोझ हैन। कुनै पाप हैन भन्ने बुझेको छु। म त्यो कुरा विश्वलाई बुझाउन चाहान्छु। म मेरो कारणले दुनियाँ बदल्न त नसकौला तर एक दुईजनाको जीवनमा मात्रै सकरात्मक परिर्वतन ल्याउन सकेभने पनि आनन्द लाग्छ म त्यसकै लागि काम गरिरहेको छु। र म मेरो प्राण रहुन्जेल अपाङ्गता सचेतनाका लागि लागिरहन्छु। मेरा हरेक काम त्यसमै केन्द्रित छन्।

त्यसो भए अवार्ड पाउँदा त्यति खुसी लागेको छैन?
अत्यन्तै खुसी लागेको छ। खुसी नलाग्ने कुरै हुँदैन। तर खुसीसँगै थप कामको जिम्मेवारी बढेको महसुस हुन्छ।

सबैभन्दा धेरै खुसी के गर्दा लाग्छ होला त?
नेपाली हुनुको नाताले प्राइड अफ नेपाल अवार्ड पाउँदा लाग्छ होला। त्योभन्दा पनि आनन्द चाहिँ नेपालमा गएर आफ्नै माटोमा हाँसीहाँसी मर्दा लाग्छ होला। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad