समाज


तिहारका लागि फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

तिहारका लागि फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १९:१८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ।   

गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। हाल ३५  व्यावसायिक भवन (मल) को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उनले बताए। प्रमुख पाण्डेकाअनुसार किसानले उत्पादन गरेको फूल काठमाडौँ महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्री स्थल बनाउने तयारी गरिएको हो। 

त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको कामपाले जनाएको छ। ‘आगामी कात्तिक १४, १५, १६ र १७ गते कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने छन्’, प्रमुख पाण्डेले भने।

फूल बिक्री स्थलमा नगर प्रहरीले समन्वय गर्ने कामपाले जनाएको छ। यस वर्षको तिहारका लागि बजारमा ४० लाख सयपत्री फूलको मालाको माग रहेको पुष्प व्यवसायीको भनाइ छ। फ्लोरिकल्चर एसोसिएसनकाअनुसार यस वर्ष स्वदेशी उत्पादन २५ लाख माला मात्र छ। बाँकी माला भारतबाट आयात गर्न लागिएको छ।  

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ। उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्प खेती विस्तार भएका छन्।  

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४४ हजार बढी व्यक्तिले लाभ लिएका छन्। मुलुकभित्र दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन्।रासस 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad