समाज


राजकुमार तिमल्सिनाको धम्कीपछि सर्वोच्चका उपरजिस्ट्रार घिमिरेले मागे सुरक्षा

राजकुमार तिमल्सिनाको धम्कीपछि सर्वोच्चका उपरजिस्ट्रार घिमिरेले मागे सुरक्षा

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरे


नेपालखबर
असोज ३०, २०८१ बुधबार २२:३०, काठमाडौँ

सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षाका लागि सरकार आग्रह गरेका छन्।

पछिल्लोपल्ट सिधाकुरा प्रकरणमा विवादित अडिओलाई लिएर अदालतको अवहेलना मुद्दा अघि बढाउने प्रयोजनका लागि प्रतिवेदन उठाएका घिमिरेले आफ्नो सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

राजकुमार तिमल्सिनाले उपलब्ध गराएको अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेवापत सिधाकुरा डट कमका दुई पत्रकार एक साता कैद बसिसकेका छन्। उनीहरुलाई ३ महिनाको कैद सजाय सुनाइएको भए पनि माफी मागेका कारण एक सातामै रिहा भएका हुन्।

सोही मुद्दामा तिमल्सिनालाई ६ महिना कैद सजाय सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले सुनाएको छ। उनलाई माफी माग्ने अवसर पनि दिइएको छैन। रकम तिरेर कैदबाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले असोज १३ गते फैसला सुनाएको छ।

यसै प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी मुद्दा पनि विचाराधीन छ।

तिमल्सिना हाल फरार छन्। उनले भारतीय नम्बरबाट फोन गरेर पनि बेलाबेला धम्क्याउने गरेको उपरजिस्ट्रार घिमिरेले फेसबुकमा लेखेका छन्।

तिमल्सिनाले आफ्नो फेसबुकमा पनि घिमिरेको तस्बिर राखेर बदला लिने धम्की दिएका छन्। फेसबुकको सोही स्क्रिनसट राखेर घिमिरेले लेखेका छन्, ‘यो वर्ष मेरी काकी स्वार्गारोहण भएको कारण दसैँ थिएन। यही समयमा डेंगीले अस्पताल थिएँ। तर यस्ता कुराको बारम्बार पीडामा छु। बाँकी मेरो संस्थाले यसबारेमा उचित निष्कर्ष र निकाससहितको उपचार निकाल्ने आशामा छु। नेपाल सरकार साइबर ब्युरोले थप अनुसन्धान गरोस्। मलाई उचित सुरक्षा देओस्। अनुरोध गर्न चाहन्छु।’

यो स्टाटस लेखेको केहीबेरपछि उनले थप लेखेका छन्, ‘स्वतन्त्र न्यायपालिका,विधिको शासन र लोकतन्त्रका लागि बलि दिन तयार छु। विगत २० दिनदेखि भारतीय नम्बर र बेनामीबाट धम्की दिनेहरुबाट विचलित भएको छैन र हुने पनि छैन। मेरो बाटो सपाट छ। मलाई भ्रष्ट भन्नेहरुले मेरो सम्पत्ति विवरण लिए पुग् । चाहिए सञ्जालमा दिन तयार छु। कृपया परिवार भएको मान्छे हुँ। उनीहरुलाई तनाव नदिनुस्।’

उपरजिस्ट्रार घिमिरेले यसअघि फेसबुकमै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको मुद्दा पनि फिर्ता लिन र स्वतन्त्र जीवन जिउन चाहेको लेखेपछि निकै ठूलो तरंग पैदा गरेको थियो। तर उनले पछि तिमल्सिनाले विभिन्न प्रकारले धम्की दिइरहेका बेला अर्को मुद्दा अघि बढाउनुपर्ने भएपछि थप दबाब र तनाव खेप्न नचाहेको कारण उक्त स्टाटस लेखेको प्रस्टीकरण सर्वोच्चका अधिकारीहरूलाई दिएका थिए। 

उपरजिस्ट्रार घिमिरेले नै उठाएको प्रतिवेदनका आधारमा बार अध्यक्षविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भइसकेको छ।     

   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad