समाज


बाँकेका होमस्टेमा बढ्यो चहलपहल, घोंगीका परिकारले सत्कार

बाँकेका होमस्टेमा बढ्यो चहलपहल, घोंगीका परिकारले सत्कार

नेपालखबर
असोज २९, २०८१ मंगलबार ११:३८, राँझा (बाँके)

बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए।

‘अहिले दसैँ मनाउन बाहिरबाट आएका पाहुनाको चहलपहल बढी हुने गरेको छ’, उनले भने, ‘दसैँ मनाउन कोहलपुर, नेपालगञ्जलगायत गाउँघरमा आएका आफन्तजन यहाँ घुम्न आउने गर्नुभएको छ।’

थारू र मुगाली समुदायद्वारा सञ्चालित ‘गाभर भ्याली होमस्टे’मा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। वर्षात्मा सुनसान हुन पुगेको उक्त घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीले बताए। 

बाहिरी जिल्लाका साथसाथै दसैँ मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उनले बताए।

आन्तरिक पर्यटकलाई लक्षितगरी मिनी गाभरमा भर्खरै सञ्चालनमा आएको बिसौनी ग्रिनरी रिसोर्ट पनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। प्राकृतिक सुन्दरता र आकर्षक पूर्वाधारकाले दसैँको माहोलमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दो रहेको महाप्रबन्धक केशव चालिसेले बताए।

उनका अनुसार मिनी गाभरमा रहेका होमस्टेमा बाँके र बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढीमात्रामा पाहुना घुम्न आउने गरेका छन्। मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ। खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ।

‘यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्ँ, बिसौनीका महाप्रबन्धक चालिसेले भने, ‘दसैँ पर्व मान्न गृहजिल्ला बाँके आएका व्यक्ति समय मिलाएर यहाँ आउने गर्नुभएको छ।’

दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटक होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ घरबासका अध्यक्ष मङ्गल थारूले बताए। 

बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले घरबासको आनन्द लिन आफूकहाँ आउने गरेको उनले जानकारी गराए। 

‘दसैँमा घुम्न आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरिएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad