हङकङ : स्कुलको महिला शौचालयमा जासुसी क्यामेरा राखेको आरोपमा शिक्षक पक्राउ

हङकङ : स्कुलको महिला शौचालयमा जासुसी क्यामेरा राखेको आरोपमा शिक्षक पक्राउ

सेन्ट मेरिज क्यानोसियन कलेजका एक शिक्षकलाई शौचालयमा जासुसी क्यामेरा राखेको आरोपमा पक्राउ गरिएको हो


नेपालखबर
असोज २९, २०८१ मंगलबार ११:४५, हङकङ

हङकङ प्रहरीले सहरको एक प्रतिष्ठित विद्यालयका पुरुष शिक्षकलाई केटीहरूको शौचालयभित्र जासुसी क्यामेरा जडान गरी अश्लील भिडियो खिचेको आरोपमा पक्राउ गरेको छ।

गत सोमबार (७ अक्टोबर) सेन्ट मेरिज क्यानोसियन कलेजका एक चौकीदारले विद्यालयको महिला शौचालयभित्र जासुसी क्यामेरा फेला पारेपछि खबर बाहिर आएको हो।

चौकीदारले शौचालय सफा गर्दा उक्त क्यामेरा पत्ता लगाएका हुन्। विद्यालय व्यवस्थापनले निरीक्षण गर्दा दुई विद्यार्थीको रेकर्डिङ फेला पारेपछि आरोपित शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।

विद्यालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त फुटेज र क्यामेरा थप अनुसन्धानका लागि प्रहरीलाई बुझाइएको जनाएको छ। साथै, आरोपित शिक्षकलाई विद्यालयको सबै भूमिकाबाट निलम्बन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

‘सम्बन्धित कर्मचारीलाई विद्यालयको सबै कर्तव्यबाट निलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनलाई विद्यालय परिसरमा प्रवेश गर्न निषेध गरिनुका साथै कुनै पनि विद्यार्थी वा कर्मचारीलाई उनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष माध्यमबाट सम्पर्क गर्न निषेध गरिएको छ।’

यस्तो कार्य समुदायका सबै सदस्यको सुरक्षाको बारेमा ‘गम्भीर चिन्ता’को विषय भएको पनि विद्यालयले उल्लेख गरेको छ। यो घटनापछि सबै कोठा, शौचालय र अन्य स्थानको निरीक्षण गरिएको विद्यालयले जनाएको छ।

विद्यालयले आरोपित शिक्षकलाई बुधबार (९ अक्टोबर)देखि निलम्बन गरेको हो। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .