समाज


शिक्षक बन्ने धोको बोकेर १२ घन्टे ड्युटी गरिरहेकी अनुजा, जो पहिलोपल्ट दसैँमा घर जान पाइनन्

शिक्षक बन्ने धोको बोकेर १२ घन्टे ड्युटी गरिरहेकी अनुजा, जो पहिलोपल्ट दसैँमा घर जान पाइनन्

पहिलोपटक अनुजा दसैँमा घर जान पाइनन्। तस्बिर : सरोज बैजु


रामकुमार डिसी
असोज २३, २०८१ बुधबार १६:४, काठमाडौँ

काठमाडौँलाई दसैँले छपक्कै छोपिसकेको छ।

वर्षा सकिनै लाग्दा आएको बाढी–पहिरोले देशभरको यातायात सेवा अस्तव्यस्त बनेको छ। तैपनि दुःख व्यहोर्दै दसैँका लागि घर पुग्ने लालसाले मानिसहरू राजधानी छोडिरहेका छन्। 

ढिलै भए पनि मौसमले पनि दसैँ भित्रिएको छनक दिइरहेको छ। सहरका गल्ली–गल्लीमा खसी–बोका र भेडा–च्याङ्ग्राको कोलाहाल बढ्दैछ। 

यता, दार्चुलाकी अनुजा बोहराको भने मन भारी हुँदै गइरहेको छ। अरु जस्तै उनी दसैँ मनाउन काठमाडौँबाट दार्चुलाको आफ्नो गाउँ लेकम गइरहेकी छैनन्। 

पहिलोपटक घरदेखि निकै टाढा काठमाडौँ आएकी हुन्। र, पहिलोपटक घरबाहिर दसैँ मनाउँदै छिन्। थापाथलीस्थित ब्लुबर्ड कम्प्लेक्स परिसरको रेखदेखमा बित्ने छ उनको समय। सुरक्षा गार्ड रहेकी अनुजा दसैँभर ड्युटीमै खटिने छिन्। 

‘घरको याद आउँछ, रुन मन लाग्छ,’ भारी मन र रसिला आँखा बनाउँदै उनी भन्छिन्, ‘घरी–घरी फोन गर्छु। कतिखेर ‘ब्यालेन्स’ पनि हुँदैन।’

‘उहाँबाट ममीले पनि फोन गर्नुहुन्छ,’ आफूलाई सामान्य बनाउने प्रयास गर्छिन्, ‘आउनु–आउनु भनिराथे। म गइनँ।’

बढी आफ्नै बाध्यता र केही जागिरको जिम्मेवारीले उनी दसैँका लागि दार्चुला गइनन्।

काठमाडौँबाट निकै टाढा छ, दार्चुला। घर पुग्न ४ दिनको यात्रा गर्नुपर्छ उनले। यात्राभन्दा यातना भन्न सुहाउँछ। बसमा ३ दिनको यात्रापछि उनी सदरमुकाम खलंगा पुग्छिन्। अनि, दिनभर हिँडेपछि घर पुगिन्छ।

अनि पैसा पनि उस्तै लाग्ने। गाडी भाडा मात्रै ७/८ हजार लाग्छ। 

‘त्यो पनि खाना नखाएर, खाना खायो भने त अझै बढी लाग्छ,’ अनुजा सुनाउँछिन्, ‘आउन–जान नै निकै दुःख छ।’

अनि, बिदा लिने भए एक महिनाअघि नै जानकारी गराउनू भन्ने उनलाई काममा लगाएको वीर गोर्खाज् सेक्युरिटीको निर्देशन। 

यही झन्झटले पनि दसैँ मान्न घर जान मन उनलाई लागेन। अनि ‘टाइम मिलेन, अफिसले बिदा दिएन’ भनेर आफू यसपालि घर आउन नपाउने जानकारी आमालाई गराइन्।

आमाले अनुजालाई भनेकी थिइन्– ‘उसो भए भाइलाई भए पनि पठाइदिनू।’

बुबा–आमा, ४ दिदीबहिनी र २ दाजुभाइ छन् उनको परिवारमा। उमेरले उनीपछिका एक बहिनी र एक भाइ मात्रै हुन्।

बहिनी गाउँमै छिन्। दुई दिदीको बिहे भइसक्यो। प्रहरीमा कार्यरत रहेका दाइ पनि यतै काठमाडौँमै छन्। कोरियन भाषा सिक्न भाइ पनि यतै छन्। यस वर्ष वर्षाले सडक बिगारिदिएकाले भाइ पनि गएनन्। 

‘जाम लाग्ने भएकाले ८ दिन लाग्छ रे, जाम हुन्छ बाटोमा, टिकट पनि पाएन भनेको थिएँ ममीलाई,’ उनले सुनाइन्।

त्यसैलै अनुजा मात्रै होइन, उनका दाइ र भाइको पनि दसैँ काठमाडौँमै हुने भएको छ। बुबा–आमासँगै दसैँ मनाउन नपाए पनि टीकाको दिन दाजुभाइसँगै रहने योजना भने उनले बनाएकी छिन्। 

‘टीकाको दिन बिदा मागेकी छु,’ योजना सुनाउँदै भनिन्, ‘सायद दाइको अफिसमा जान्छु होला। दाइले यता आउनु भनेको छ। भाइ र म उतै जान्छौँ होला।’

शिक्षक बन्ने सपना पूरा गर्न सुरक्षा गार्डको काम
शिक्षक बन्ने सपनाको भारी बोकेर उनी गत चैतमा काठमाडौँ आएकी थिइन्। थोरै तयारीमा उनले गत वैशाख ९ गते प्रावि र निमाविका लागि शिक्षक सेवाको परीक्षा दिइन्। तर, नतिजा सोचेजस्तो आएन। 

आफूले देखेको सपना पूरा गर्न अलि ठूलै मेहनत लाग्ने देखिएपछि उनले काठमाडौँ बसाइ लम्ब्याउनुपर्ने भयो। घरबाटै पैसा मगाएर काठामाडौँ बस्न उनले उचित ठानिनन्। 

अनि, सुरू गरिन् कामको खोजी। कान्तिपुर सेक्युरिटीले सुरक्षा गार्ड खोजिरहेको उनले थाहा पाइन्। अनि, अनलाइन आवेदन दिइन्। 

उनले दिएको आवेदनको त्यो अफिसले लामो समयसम्म केही जवाफ दिएन। कार्यालयमा फोन गरिन्, फोन पनि उठेन। अनि भेटेर यसबारे सोध्न कलंकीस्थित कान्तिपुर सेक्युरिटीको कार्यालयमा पुगिन्। 

त्यहाँ उनले अफिसका गार्डसँग मात्रै कुरा गर्न पाइन्। त्यहाँ भेटिएका गार्डले वीर गोर्खाज सेक्युरिटीमा आफ्नो चिनजानको साथी भएको भन्दै एकजनाको नम्बर दिए। 

‘उहाँले नम्बर दिनु भएपछि मैले यता सम्पर्क गरेँ,’ उनी भन्छिन्, ‘उहाँ हाम्रो बैतडीको एकजना सर हुनुहुन्थ्यो। अनि उहाँमार्फत यता आइपुगेँ।’

वैशाख १० गतेदेखि उनले काम थालिन्। करिब १५ दिनको तालिमपश्चात उनले लाजिम्पाटस्थित एक होटेलमा सेक्युरिटी गार्डका रूपमा काम थालेकी थिइन्। तर, त्यहाँ काम गर्न उनलाई त्यति सजिलो भएन। एक महिनामै बिरामी परिन। 

‘१२ घण्टा लगातार उभिराख्नुपर्ने, त्यो पनि गेटमा,’ उनी सुनाउँछिन्, ‘सबैलाइ नमस्कार गर्नुपर्ने। एकजनालाई छुटायो भने गुनासो गरिहाल्छन्।’

बिरामी परेपछि आफूलाई अन्तै खटाउन कम्पनीलाई आग्रह गरिन्। त्यसपछि कम्पनीले उनलाई थापाथलीस्थित ब्लुबर्ड कम्प्लेक्समा खटायो। पहिले भन्दा अहिले उनलाई अलि सहज लागेको छ। 

काम त उही हो, १२ घण्टा खटिनुपर्छ। सुक्खा २३ हजार रूपैयाँ तलब पाउँछिन्। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उनको ड्युटी हुन्छ। 

बिहानै काममा निस्कनुपर्ने भएकाले उनी सहकर्मीसँगै मिलेर खाना, खाजा पकाएर खान्छिन्। 

यो सब किन भन्ने प्रश्नमा जवाफ छ– शिक्षक बन्ने सपना पूरा गर्न। 

उनी दार्चुलाकै खलंगामा रहेको क्याम्पसमा शिक्षा शास्त्र संकायमा स्नातक तहको तेस्रो वर्षमा पढिरहेकी छिन्।

काठमाडौँ आउनुअघि उनले गाउँकै भगवती प्राविमा कक्षा ५ सम्मका विद्यार्थीलाई पढाएकी थिइन्। गाउँपालिकाले करार शिक्षकका लागि लिएको परीक्षा दिएर उनले पढाउन थालेकी थिइन्। तर, बिहे नगरेकी छोरी बिहेपछि अन्तै जाने भन्दै त्यहाँ बिहे गरेकैलाई राख्नुपर्ने कुरा उठाइयो। 

‘गाउँपालिकाको करारमा पढाएको थिएँ,’ उनको दुखेसो छ, ‘अविवाहित केटी बिहे गरेपछि अर्कै ठाउँमा जान्छ। त्यसैले अन्तै राख्न पर्छ। यता राख्न मिल्दैन भने।’

बिहे गरेको वा नगरेको या अन्य अधारमा कसैलाई पनि रोजगारीबाट रोक्नु संविधान विपरीतको काम हो। तर, उनी त्यही सोचको शिकार बनिन्। ५–६ महिनामै उनले पढाउन छोड्नुपर्‍यो। 

अनि, उनले शिक्षक सेवाबाटै नाम निकाली स्थायी शिक्षक बनेर त्यही स्कुलमा पढाउने प्रण लिइन्। 

अब फेरि माघ फागुनतिर शिक्षक सेवा आयोगले नयाँ आवेदन खुलाउँछ। फेरि परीक्षा दिने तयारीमा छिन्, अनुजा। १२ घण्टे लामो ड्युटीका कारण खासै पढ्ने समय निकाल्न भने पाउँदिनन्, तैपनि उनी अब तयारी कक्षा लिएर यसपटक भने राम्ररी परीक्षा दिने योजनामा छिन्। 

‘आफूले गरेको पेसा हुनाले मलाई त्यही राम्रो लाग्छ,’ उनी सुनाउँछिन्, ‘अरुलाई शिक्षा दिँदा आफूले पनि पायो, अरुलाई पनि दिन सकियो। त्यही भएर मलाई शिक्षण नै राम्रो पेसा हो भन्ने लाग्यो।’

शिक्षक बन्ने सपनामा उनले छिचोल्नुपर्ने अझै धेरै तगारा छन्। त्यसमध्ये एउटा हो, बिहे। उनलाई बिहे गर्न दबाब आइरहेको छ।

उनले भनिन्, ‘गाउँमा छिटै बिहे गर्छन्। गाउँमा बिहे नभएकाहरूमध्ये सबैभन्दा जेठी भनेको म नै हो। बिहे गर्नुपर्छ भन्छन्। घरबाट त्यही तनाव दिन्छन्।’

तर, उनी आफ्नो सपनामा अडिग छिन्। सपना पूरा नगरी बिहे नगर्ने अडानमा छिन्। 

‘म बिहे गर्दिनँ, आफ्नो सपना पूरा नभएसम्म। आफ्नो खुट्टामा उभिन्छु, त्यसपछि मात्रै गर्छु भनेर भनेको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad