ad ad

समाज


कतार जानेको श्रम स्वीकृति रोकियो

कतार जानेको श्रम स्वीकृति रोकियो

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ७:११,

नेपाली श्रमिकहरुको मुख्य गन्तब्यका रुपमा रहेको खाडी मुलुक कतारले नेपालहरुलाई आवतजावतमा प्रतिबन्ध लगाएपछि श्रम स्वीकृति बन्द गरिएको छ।

कतारमा कोरोनाको प्रकोप बढ्दै गएपछि सोमबारदेखि १४ देशसँग आवगमनमा रोक लगाएको थियो। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार कतारमा कोरोनाको प्रकोप सामान्य अवस्थामा नआउन्जेलका लागि श्रम स्वीकृति रोकिएको हो।

उनले यसअघि नै श्रम स्वीकृति लिइसकेका तर जान बाँकी रहेकाहरुको हकमा कूट्नीतिक माध्यमबाट अवस्था सहज भएपछि जान पाउनेगरी पहल गरिने बताए।

महानिर्देशक दाहालले भने, ‘अहिले पनि श्रम स्वीकृति लिनेको भिड छ। तर, उतैबाट बन्द गरिएकाले हामीले पनि रोकेका छौं। जहिले सहज हुन्छ त्यहीलेबाट श्रम स्वीकृति जारी गर्छौं।’

कोरोना संक्रमण रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुहरुलाई सोमबारदेखि नै लागू हुनेगरी आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको हो।

कतार सरकारले तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन आइतबार त्यस्तो घोषणा गरेको थियो।

उसले नेपालसहित चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको हो।

कतारमा हालसम्म १५ जनामा संक्रमण भएको फेला परेपनि कसैको मृत्यु भएको छैन।

यस्तै कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सकेसम्म दूतावास नआउन आग्रह गरेको छ। सोमबार दूतावासले एक सूचना जारी गर्दै आवश्यक परे फोन वा इमेलबाटै सम्पर्क गर्न तर दूतावास नआउन आग्रह गरेको हो।

कोरोना संक्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजान र भेटघाट कम गर्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .