समाज


सावित्रीको हत्यापछि कसले लग्यो २२ लाख रुपैयाँ?

सावित्रीको हत्यापछि कसले लग्यो २२ लाख रुपैयाँ?

दीपक खरेल
असार १८, २०७६ बुधबार १३:३३,

 चाँगुनारायाण, भक्तपुरमा आइतबार भएको सावित्री भट्टराई हत्याकाण्डमा जोडिएको २२ लाख रुपैयाँको रहस्य प्रहरीले अझै सुल्झाउन सकेको छैन। आफ्नै छोरीले कन्ट्रयाक किलर बोलाएर आमाको हत्या गराएको घटनापछि भक्तपुर प्रहरीले संलग्नलाई पक्राउ गरे पनि रकम कसले लग्यो भन्ने खुल्न नसकेको हो।

प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउँदै गर्दा पहिलो पटक आरोपीमध्ये एक सावित्राकी छोरी ईश्वरीले आमासँग २२ लाख रुपैयाँ रहेको बताएकी थिइन्। प्रहरीमा आइतबार नै सावित्रीका भाइले दिएको जाहेरीमा समेत २२ लाख रुपैयाँ हराएको उल्लेख छ।

‘दिदीको जग्गा किन्न भनेर २२ लाख रुपैयाँ आमासँग थियो,’ महानगरीय अपराध महाशाखामा बयान दिँदै ईश्वरीले भनेकी छन्, ‘त्यो पैसा गायब छ।’

प्रहरीले ईश्वरीकै बयानका आधारमा पैसा निकालेको भनिएको सहकारी र सुन बेचेको भनिएको पसलमा बुधबार सोधपुछ गरेको छ। जग्गा किन्न भनेर पैसा सावित्रीलाई दिने उनकी जेठी छोरी बुधबारै साँझसम्म नेपाल आउने प्रहरीले जनाएको छ। उनी भारतको भोपालमा बस्छिन्।

उनले नै भक्तपुरमा जग्गा खरिदका लागि सहकारीमा जम्मा गरेको रकम र सुन बेचेको पैसा आमालाई दिएको ईश्वरीले प्रहरी बयानमा बताएकी छिन्। 

प्रहरीका अनुसार हत्या गरिएकी सावित्रीकी भारतमा रहेकी जेठी छोरीसँग ईश्वरी र श्रीमानले घर बनाउन १२ लाख रुपैयाँ लिएका थिए। दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका श्रीमान्ले ऋण तिर्न सहकारीबाट १६ लाख रुपैयाँ ऋण लिएका थिए। उनले रेष्टुराँको सेयर र सुन समेत बेचेर घरमा २२ लाख रुपैयाँ राखेका थिए। हत्या भएको दिनदेखि उक्त रकम गायब छ।

‘हामी २२ लाख कहाँबाट आएको हो, त्यो खोजी रहेका छौं,’ भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले नेपालखबरसँग भने ‘पैसा थियो वा थिएन भन्ने यकिन भएपछि कहाँ गयो त्यसको खोजी हुनेछ।’

आरोपीको बयान र जाहेरीमा उल्लेख भएको विषय भएकाले २२ लाख रुपैयाँको खोजी प्रहरीको प्राथमिकतामा रहेको उनले बताए। भक्तपुर प्रहरीको वारदात मुचुल्कामा दराजमा रहेको एक लाख पचास हजार रुपैयाँ बरामद भएको उल्लेख छ।

भक्तपुर प्रहरीले चारै आरोपीबिरुद्ध कर्तब्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरीले २४ घण्टा नबित्दै हत्याको गुत्थी सुल्झाएको सावित्री भट्टराई हत्याका चारै आरोपी अहिले भक्तपुर प्रहरी थुनामा छन्। प्रहरीले कर्तब्य ज्यान मुद्दामा उनीहरूविरूद्ध अनुसन्धान गरिरहेको छ।

प्रहरी अनुसन्धानले छोरी ईश्वरीको विवाहेत्तर सम्बन्ध रहेको देखाएको छ।

प्रहरी अनुसन्धानले आमा सावित्रीको हत्यामा ईश्वरीको संलग्नता पुष्टि गरे पनि उनले इन्कारी बयान दिँदै आएकी छिन्। हत्यामा संलग्न रहेका मुख्य आरोपी मोहम्मद नौशादले घटना ईश्वरीकै योजना र सहयोगमा भएको साविती बयान दिएका छन्।

यस्तै हत्यामा प्रत्यक्ष संलग्न रहेका अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद रईश हेटौडाबाट पक्राउ परेका थिए। महाशाखाको टोलीले तीनैजनाका साथबाट कुनै रकम बरामद नभएको जनाएको छ।

‘पैसा लिएर आउँदैछु भनेपछि दुईजना हेटौडा बसपार्कमा चार घण्टा नौशादलाई पर्खिएर बसेका हुन्,’ महाशाखाका अनुसन्धान अधिकारीले भने ‘तर कसैबाट पनि कुनै रकम बरामद भएको छैन।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ईश्वरीको योजना अनुसार नौशादले भोलाकुमार र रईशलाई १२ लाख रुपैयाँ दिने शर्तमा भारतबाट ल्याएका थिए। हत्यामा घाँटी रेटे बापत रईशलाई थप दुईलाख रुपैयाँ दिने सहमती भएको अनुसन्धान अधिकारी बताउँछन्।

याे पनि: छोरीको घर बसेको हेर्न चाहन्थिन् सावित्री, उनैबाट मारिइन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .