तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए।
भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ।
‘बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ’, पराजुलीले भने, ‘पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो।’
नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ। अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिनेछ।
नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन्।
‘कहीँ त्यो भन्दा बढी र कहीँ दुई सय मिलिमिटरसम्म वर्षा भएको छ’, प्रमुख पराजुलीले भने।
चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ। एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ।
यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन। बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ।
बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ। शाखाले वेबसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ।
Shares

प्रतिक्रिया