ad ad

समाज


साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी

साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी

नेपालखबर
असोज १, २०८१ मंगलबार १७:४, काठमाडौँ

‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ। साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले आज केन्द्रीय कार्यालय पुलचोकमा प्रदर्शनीको उद्घाटन गरे।

प्रदर्शनीको उद्घाटन पश्चात् डा भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पुर्याउने बताए।

‘विद्यालय, महाविद्यालय, क्याम्पसले विद्यार्थीलाई यस्ता प्रदर्शनीमा सहभागी गराउन सके राम्रो हुन्छ, यसले पुस्तकको सार्थकता वृद्धि हुनुका साथै लेखकलाई परिचित गराउन मद्दत पुर्याउँछ’, उनले भने।

उनले पठन संस्कृतिको विकास हुनु भनेको शिक्षाको विकास हुनु भएको बताए। शिक्षा र संस्कृतिमा मुलुक समृद्ध नभएसम्म आर्थिक समृद्धिले मात्रै पर्याप्त हुन नसक्ने उनको धारणा थियो।

साहित्यकार डा माया ठकुरीले साहित्यकारका लागि पुस्तक प्रदर्शनी हुनु ठूलो उपलब्धि भएको बताइन्। डिजिटल युगमा पुस्तक प्रदर्शनी हुनु सकारात्मक पाटो भएकाले पुस्तकको माध्यमबाट साहित्यकारको पहिचान स्थापित हुने उनको भनाइ थियो।

साझा प्रकाशनका अध्यक्ष डा विजय सुब्बाले लामो समयसम्म बजारका पसलमा आँखा नपरेका पुस्तक पनि प्रदर्शनीमा रहेको जानकारी दिए। उनले यो प्रदर्शनी पाठक र साहित्यकारलाई नजिक बनाउने माध्यम भएको बताए।

आर्थिक समस्याको चपेटामा रहेको साझा प्रकाशनलाई प्रदर्शनीले केही मात्रामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पठन संस्कृति विकासका लागि आज देखि सुरु प्रदर्शनी १५ गतेसम्म सञ्चालन हुने साझा प्रकाशनका प्रशासकीय सहायक सुशील अधिकारीले जानकारी गराए।

साझाको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका बिक्री कक्षमार्फत २० देखि ८० प्रतिशतसम्म छुटका साथ पुस्तक बिक्री गरिने उनको भनाइ छ। प्रदर्शनीमा साझा प्रकाशनका दुई हजार दुई सय र अन्य प्रकाशनका गरी करिब पाँच हजार पुस्तक प्रदर्शनीमा राखिएको छ।

साझा प्रकाशन नेपालको पुरानो प्रकाशन गृह हो। यस संस्थामा नेपाल सरकारको ६० प्रतिशत र बाँकी ४० प्रतिशत शेयर साहित्यकार, पत्रकार, शिक्षासेवीसहित सर्वसाधारणको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .