ad ad

समाज


जंगी अड्डामा प्रधानसेनापति सिग्देलको पहिलो सम्बोधन : २२ योजना घोषणा

सैन्य अधिकारीका सन्तानको छात्रवृत्ति रकम वृद्धि, फास्ट ट्रयाकमा ढिलासुस्ती ‘असह्य’
जंगी अड्डामा प्रधानसेनापति सिग्देलको पहिलो सम्बोधन : २२ योजना घोषणा

उजिर कार्की
भदौ २५, २०८१ मंगलबार २२:७, काठमाडौँ

नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डाबाट मंगलबार पहिलो सम्बोधन गरेका छन्। सिग्देलले सकलदर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा गरिने सुधार र कार्ययोजनाहरू पनि सार्वजनिक गरेको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए। 

सोमबार मात्रै राष्ट्रपतिबाट दज्र्यानी चिन्ह ग्रहण गरेका सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन्। आफ्नो तीन वर्षे कार्यकालका प्रमुख प्राथमिकता सार्वजनिक गर्दै उनले सोही अनुसार संगठनलाई निर्देश गरेका हुन्। 

नेपालको संविधान, नेपाली सेना मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच–२०८७ लगायतलाई आधार मानी सङ्गठनको सुदृढीकरण गर्दै लगिने सिग्देलको घोषणा छ।

‘राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्वपूर्ण क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै सात वटा लक्ष्यहरू समावेश गरी ‘प्रधान सेनापति कमान्ड मार्गनिर्देशन–२०८१’ जारी हुनेछ,’ सिग्देलले सम्बोधनका क्रममा भनेका छन्।

राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय संयन्त्रहरूको क्षमता सुदृढीकरण गर्दै समग्र राष्ट्रिय सोचमा आधारित विश्वासनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको उनको ठम्याइ छ। 

देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरूको साझा बुझाइ र समान धारणा विकासका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमा नै सञ्चालनमा ल्याइने प्रधानसेनापति सिग्देलले प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने, नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने र त्यसका लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरूको सुरक्षामा योगदान पुर्‍याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने उनले घोषणा गरेका छन्।

राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने बताएका छन्।

सबैलाई खुसी बनाउने भन्दा पनि संस्थाको हितको लागि काम गर्न, सही नियतले काम गर्न नडराउन उनले निर्देशन दिएका छन्। 

कसैले व्यक्तिगत आकांक्षा, कुण्ठा र सस्तो लोकप्रियताको लागि संस्थागत भाइचारा आपसी विश्वासमा कमी ल्याउने तथा संस्थाको तेजोवध गर्ने प्रकृतिका कार्यहरू गरेको पाइएमा क्षम्य नहुने चेतावनी पनि दिएका छन्।

पहिलो र अन्तिम तथा एकमात्र मूलमन्त्र भनेको ‘सैनिक अनुशासन र सैनिक मर्यादा’ रहेको सिग्देलले बताएका छन्। 

बङ्कर टु ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादन लगायतका कार्यहरूलाई व्यवस्थित गर्दै लगिने बताएका सिग्देलले काठमाडौं–तराई÷मधेस द्रुतमार्ग लगायत अन्य सडक करिडोरहरूको निर्माण कार्यमा कुनै पनि प्रकारको ढिलासुस्ती, अनभिज्ञता, अनियमितता लगायतका क्रियाकलापहरू अस्वीकार्य हुने बताएका छन्। 

नेपाली सेनाको कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावको आधारमा थप प्रभावकारी बनाउंने प्रधानसेनापति सिग्देलको योजना छ। 

कक्षा ४ देखि १२ सम्म अध्ययनरत नेपाली सेनाको बहालवाला तथा अवकाशप्राप्त अधिकारीहरूका सन्ततिलाई प्रदान गरिँदै आएको छात्रवृत्ति रकममा ५ हजार थप गर्ने, पारिवारिक निवृत्तिभरणमा रहेका सबै एकल महिलाहरूलाई प्रदान गरिँदै आएको कल्याणकारी निवृत्तिभरणमा मासिक ५०० का दरले थप गरिने भएको छ।

जटिल प्रकृतिका रोग लागेका हिताधिकारीहरूलाई बहिरङ्ग उपचारको वार्षिक सीमा पुनरवलोकन गरिने र विगत द्वन्द्वमा घाइते भएका सैनिकहरूलाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइने भएको छ।

तहगत रूपमा तैनाथ कमान्डरहरूद्वारा आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने पनि प्रधानसेनापति सिग्देलको योजना छ। 

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नै नेपाली सेनाको प्रमुख कार्य रहेको दोहोर्‍याएका सिग्देलले राष्ट्रमा आइपर्ने जटिल समस्याहरूको समाधान गर्न राष्ट्रिय एकता सबै भन्दा शक्तिशाली र भरपर्दो शक्ति भएको बताए। 

यसअघिका प्रधानसेनापति प्रभुराम शर्मा तीन वर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका हुन्। उनले एक महिना पहिलेबाटै कामु प्रधानसेनापतिको रूपमा कमान्ड सम्हालेका थिए। तर प्रधान सेनापति भएपछि उनले मंगलबार पहिलो सम्बोधन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .