ad ad

समाज


राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता

पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ
राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १०:२३, काठमाडौँ

सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टोलीमा रहेका तथा देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ। 

राष्ट्रिय खेलाडीको मुटुसहितको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्बन्धि सम्झौतामा आज हस्ताक्षर भएको हो। 

मंगलबार बिहान प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर याे कार्यक्रमको सुरुवात गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएकाे बताए। 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको बताए। ‘यो सकृयताका लागि स्वास्थ्य मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु,’ मन्त्री चौधरीले भने। 

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा मन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए।

त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सकृयता लिएका थिए।

स्वास्थ्यमन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण सम्बन्धि सम्झौता भएको हो। 

सम्झौतामा हरेक वर्ष निःशुल्क मुटु परीक्षण गरिने उल्लेख छ। सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ। 

हाल केन्द्रकै तर्फबाट खेलाडीको निःशुल्क परीक्षण हुँदै आएको छ। आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर खेलाडीकाे निःशुल्क स्वास्थ्य परीक्षणलाई अझ व्यवस्थित बनाइने  मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ।

सम्झौता हरेक वर्ष नवीकरण गर्नेसमेत व्यवस्था गरिएको छ। घोषणाबाट देशका तर्फबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागी हुँदै आएका राष्ट्रिय टिमका ७ सय ५७ जना खेलाडी लाभान्वित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .