ad ad

समाज


प्रकाश तामाङलाई घरमै नागरिकता, भेट गर्न आउन प्रधानमन्त्रीको निम्तो

प्रकाश तामाङलाई घरमै नागरिकता, भेट गर्न आउन प्रधानमन्त्रीको निम्तो

नेपालखबर
भदौ १६, २०८१ आइतबार १५:१४, काठमाडौँ

तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका छन्। प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो। 

नगरपालिकाका मेयर सुरेन्द्र उदासले नागरिकता हस्तान्तरण गरेका हुन्। नागरिकता हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुखा बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं उपस्थिति थियो।

‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि चर्चामा आएका प्रकाश शनिबार भोजपुर पुगेका थिए।

शनिबार बिहान काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाजमा तुम्लिङटार एयरपोर्ट हुँदै प्रकाश घर पुगेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशलाई भेट्न काठमाडौँ बोलाएका छन्। नागरिकता पाएका उनी केही दिनमै काठमाडौँ आएर प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम छ। 

ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए।

भोजपुर घर भएका युवाहरूले अभियान नै चलाएर प्रकाशलाई नागरिकता दिलाउने र बैंक खाता खोल्नका लागि पहल गरिरहेका छन्। बैंक खाता खुलाउनका लागि प्रकाशको नागरिकता अनिवार्य भएपछि सुरुमा उनी भोजपुर पुगेका हुुन्। 

प्रकाशलाई तीन दशकबढी आश्रय दिएका टसि दोर्जे लामाले खाता खुलेपछि १० लाख रकम जम्मा गरिदिने प्रतिबद्धता जनाएर न्यानो बिदाइसहित चुमभ्यालीबाट बिदा गरेका थिए। 

बिदाइका क्रममा उनले आफ्नै घर सम्झिएर फेरि फेरि आउन पनि प्रकाशलाई आग्रह गरेका थिए। जवाफमा प्रकाशले पनि आफू मन लागेको बेलामा आउने बताएका थिए। 

प्रकाशलाई बाटोमा भेट्ने अधिकांशले सहयोगको प्रतिबद्धता जनाएका छन्। शुक्रबार काठमाडौँ आउने क्रममा एक महिलाले राजमार्गमै फुलमालासहित सम्मान गरेर २० हजार रुपैयाँ सहयोग पनि गरेकी थिइन्।

त्यस्तै, चुमनुब्री गाउँपालिकाले पनि उनलाई १ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ। 

यस्तै, प्रकाशका लागि सोही क्षेत्रका सांसद सुदन किराँतीको नेतृत्वमा घर समेत निर्माण हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .