इजरायली सेनाले गाजामा हमासले बन्धक बनाएका ६ जनाको शव फेला पारिएको बताएको छ। उनीहरूलाई गत वर्षको अक्टोबर ७ को हमलामा हमासले बन्धक बनाएको थियो।
रफाह क्षेत्रमा शनिबार सुरुङभित्र उनीहरूको शव भेटिएको इजरायली सेनाले विज्ञप्तिमार्फत जनाएको हो।
शव भेटिएका बन्धकमा कारमेल गट, एडेन यरुसलामी, हर्स गोल्डबर्ग पोलिन, अलेक्जेन्डर लुबानोव, एलमङ सरुसी र मास्टर सार्जेन्ट ओरी दानिनो छन्।
जसमध्ये गोल्डबर्ग पोलिन अमेरिकी नागरिक हुन्।
इजरायली सेना पुग्नुभन्दा केही समयअघि मात्र उनीहरूको हत्या गरिएको सेनाले बताएको छ।
उनीहरूको शव इजरायल लगिएको सेनाले जानकारी दिएको छ।
बन्धकका परिवारहरूको फोरमले ११ महिनासम्मको भोक, प्यास यातना सहेका बन्धकहरूले युद्धविराम सम्झौतामा भएको ढिलाइका कारण ज्यान गुमाउनुपरेको बताएको छ। उनीहरूले आइतबार इजरायलमा प्रदर्शनको आयोजना गरेका छन्।
गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा झण्डै इजरायलमा झण्डै १२ सयको ज्यान गएको थियो भने सयौँलाई हमासले बन्धक बनाएको थियो।
त्यसपछि इजरायली सेनाले गरेको आक्रमणमा करिब ४० हजार मानिस मारिइसकेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया