ad ad

समाज


अमेरिकामा मुना पाण्डे मारिएको अपार्टमेन्टबाट यी संदिग्ध व्यक्ति बाहिरिँदै गरेको देखियो

अमेरिकामा मुना पाण्डे मारिएको अपार्टमेन्टबाट यी संदिग्ध व्यक्ति बाहिरिँदै गरेको देखियो

मुना पाण्डे र उनको अपार्टमेन्टबाट बाहिरिँदै गरेका संदिग्ध व्यक्ति


नेपालखबर
भदौ १३, २०८१ बिहिबार ८:१५, काठमाडौँ

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्यारा पत्ता लगाउन स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। 

गत सोमबार साँझ पाण्डे ह्युस्टनको वेस्ट एयरपोर्ट बुलेभार्डस्थित आफ्नै अपार्टमेन्टमा गोली लागेको अवस्थामा मृत फेला परेकी थिइन्।

नेपालिज एसोसिएसन अफ ह्युस्टनका द्रोण गौतमका अनुसार पाण्डेलाई तीनवटा गोली लागेको थियो र उनी ओछ्यानमा टाउको तल पारेर पल्टिरहेको अवस्थामा भेटिएकी थिइन्। उनले भनेका छन्- अनुसन्धानबाट यो कसरी भयो भन्ने कुरा थाहा हुनेछ।

यसैबीच ह्युस्टन प्रहरी विभागले पाण्डे बस्ने गरेको अपार्टमेन्टबाट बाहिरिँदै गरेका एक संदिग्ध व्यक्तिको तस्बिर सार्वजनिक गरेको छ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन्। सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन्।

पाण्डेको अन्तिम संस्कारका लागि नेपालबाट उनकी आमा अनिता पाण्डे अधिकारी अमेरिका जान चाहेकी छन्। तर उनले आर्थिक समस्या भएको बताएकी छन्। 

यसैबीच मुनाको अन्तिम संस्कार तथा उनकी आमालाई अमेरिका यात्राका लागि खर्च जुटाउन गोफन्डमी अभियान सुरु गरिएको छ। 

५० हजार डलर संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको गोफन्डमी अभियानले सहयोगका लागि सबैसँग अपिल गरेको छ। मुनाकी आमा अनितालाई छोरीको अन्तिम संस्कारका लागि अमेरिका ल्याउन समेत आर्थिक सहयोग गर्नुपर्ने देखिएको अभियानले जनाएको छ। 

मुना आफ्नी एक मात्र सन्तान भएको र उनी पनि बितेपछि आफ्नो संसारै सकिएको दुखेसो अनिताले गरेकी छन्। छोरीको न्यायका लागि हत्यारा जसरी पनि पत्ता लगाउन उनले सम्बन्धित सबैसँग आग्रह पनि गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .