समाज


दक्षिण कोरियामा अस्ताइन् इलामकी २० वर्षीया सोनु, तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

दक्षिण कोरियामा अस्ताइन् इलामकी २० वर्षीया सोनु, तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

सोनु श्रेष्ठ र बुवा लिला कुमार श्रेष्ठ (तस्बिर स्रोत : होम श्रेष्ठ)


रुपक चौलागाईं
भदौ ३, २०८१ सोमबार २०:१४, काठमाडौँ

इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको हिजो (आइतबार, भदौ २) निधन भएको हो।

दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत श्रेष्ठको आइतबार निधन भएको खबर आफूहरूलाई आएको उनका फुपाजु होम श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। 

‘हिजो (आइतबार) निधन भएको भन्दै आज (सोमबार) खबर आएको छ,’ श्रेष्ठले भने।

उनका अनुसार, हृदयघातका कारण निधन भएको खबर परिवारसम्म आइपुगेको छ। यद्यपि, के कारणले निधन भएको हो भन्ने अहिलेसम्म खुलेको छैन। 

इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालका अनुसार सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टमको रिपोर्ट भने अस्पतालले दूतावासलाई दिइसकेको छैन।

उनको शव नेपाल पठाउनका लागि आफूहरूले पहल गरिरहेको पनि खनालले जानकारी दिए।

‘शव नेपाल पठाउने प्रक्रिया पूरा हुँदैछ,’ खनालले नेपालखबरसँग भने, ‘खर्च महंगो लाग्ने बुझेका छौँ। कम्तीमा १२ लाख खर्च लाग्ने भएपछि हामी त्यसैको प्रबन्ध मिलाउँदैछौँ।’

दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालय, जहाँ सोनु अध्ययन गर्थिन्

परिवारका सदस्यले स्थानीय सरकारसँग समन्वय गरेर शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन्। माई नगरपालिका– १ का अध्यक्ष रामबहादुर राईले आज (सोमबार) कार्यालय बन्द भएको र ढिला खबर पाएकाले भोलि बिहानैबाट शव ल्याउनका लागि परिवारसँग समन्वय गरिने जानकारी दिए।

‘हामी परिवारका सदस्यसँग समन्वयमा छौँ,’ उनले भने, ‘भोलि वडामा निवेदन दिन भनेका छौँ।’

३ महिना अघि वैदेशिक रोजगारीमै बितेका थिए बुवा
सोनु ६ महिनाअघि (फेब्रुअरी) विद्यार्थी भिसामा दक्षिण कोरिया गएकी हुन्। उनका बुवा लिलाकुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। 

मलेसियामा रहेका लिलाकुमारको पनि तीन महिनाअघि मात्रै निधन भएको थियो।

‘बुवाको पनि तीन महिनाअघिमात्रै मलेसियामा निधन भएपछि शव नेपाल ल्याएर अन्तिम दाहसंस्कार गरियो,’ श्रेष्ठले भावुक हुँदै भने, ‘परिवारमा एकपछि अर्को बज्रपात पर्दै गइरहेको छ।’

सोनुका परिवारमा अन्य तीन सदस्य छन्, आमा, भाइ र बैनी। एउटी दिदीको भने बिहे भइसकेको छ।

४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ गाउँमै सामान्य खेतीपाती गर्छिन्। सोनुका भाइ कक्षा ७ मा र बैनी कक्षा १२ मा अध्ययन गर्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad